Loading... आजः आइतवार, अशोज १८, २०८३
Trending

सिंहदरबार गाउँमा ,गाउँले सहरतिर


कमल शर्मा
दैलेख :  कुनै समय भगवतीमाई गाउँपालिका–२, साविक रुम गाविस–७ को त्यो बस्ती बिहानैदेखि चहलपहलले भरिन्थ्यो । घरघरबाट धुवाँ निस्कन्थ्यो । आँगनमा बालबालिका खेल्थे। खेतबारीमा मानिस देखिन्थे । मेलापातमा गाउँले भेटिन्थे । कसैको घरमा दुःख पर्दा छिमेकी पुग्थे, खुसी पर्दा पूरै गाउँ रमाउँथ्यो । त्यो बेला बस्तीमा २५ घरधुरी थिए । अहिले त्यहाँ ७ घर मात्रै छन् । बाँकी १८ घरका ढोका बन्द छन् । कतिपय घरमा ताल्चा झुन्डिएका छन् । कतिपय घरका आँगनमा झार उम्रिएको छ । घर उस्तै छन्, खेतबारी उस्तै छन् । बाटो उस्तै छ । तर घरभित्र मानिस छैनन् । गाउँको सबैभन्दा ठूलो अभाव अहिले सडक, विद्युत् वा खानेपानीको मात्रै होइन मानिसको अभाव छ ।
कुनै घरमा मृत्यु भयो भने पहिले जस्तो मलामी जुटाउनसमेत कठिन हुन्छ । गाउँमा रहेका अधिकांश वृद्धवृद्धा आफैं लाठी टेकेर हिँड्नुपर्ने अवस्थामा छन् । युवा पुस्ता गाउँमा छैन । गाउँमा मलामी जाने उमेरका युवा छैनन्, छोराछोरी फर्किने आशामा घर कुरिरहेका वृद्धवृद्धा मात्रै छन् ।
बस्तीका घरहरू हेर्दा अझै गाउँ भरिभराउ जस्तो लाग्छ । तर ती घरका ढोका उघार्दा अवस्था फरक देखिन्छ । कुनै घरमा वृद्ध दम्पती छन् । कतिपय घरमा कोही छैन । छोराछोरी रोजगारीका लागि सहर पुगेका छन ्। कोही जिल्लाबाहिर छन्। कोही विदेशमा छन् ।बालबालिका पढाइका लागि बाहिरिएका छन् । परिवारका सदस्य बाहिरिँदै जाँदा गाउँका घरहरू क्रमशः सुनसान बन्दै गएका छन् ।

संघीयता कार्यान्वयनपछि स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार बने । गाउँमै जनप्रतिनिधि आए ,वडा कार्यालय खुले,योजना र बजेट गाउँमै पुग्न थाले । सडक, विद्युत्, विद्यालय र स्वास्थ्य संस्थाको पहुँच विस्तार भयो । तर गाउँमा सरकार आए पनि गाउँमा मानिस टिकेनन् ।
दैलेखका ११ स्थानीय तहबाट प्राप्त बसाइँसराइसम्बन्धी अभिलेख जोड्दा विभिन्न अवधिमा १४ हजार १ सय १३ जनाले आफ्नो बसोबास परिवर्तन गरी अन्यत्र गएको देखिन्छ । यो संख्या सबै पालिकाको एउटै अवधिको भने होइन । स्थानीय तहहरूले फरक–फरक वर्ष तथा अनलाइन घटना दर्ता सुरु भएपछिका अभिलेख उपलब्ध गराएका छन् ।

गाउँपालिकाले दिएको तथ्याङक अनुसार जिल्लाका ग्रामीण क्षेत्रबाट नागरिक बाहिरिने प्रवृत्ति भने स्पष्ट देखाउँछ । महाबु गाउँपालिकाबाट २ सय ९९, ठाटिकाँधबाट १ हजार ३ सय ६४, नारायण नगरपालिकाबाट १ हजार ७ सय ८४, भैरवीबाट १ हजार ९३, डुंगेश्वरबाट ९ सय ११, भगवतीमाईबाट १ हजार १८, दुल्लुबाट २ हजार ४ सय ४, गुराँसबाट १ सय ३६, आठबिसबाट १ हजार ७ सय ८४, चामुण्डाबिन्द्रासैनीबाट १ हजार ५ सय २७ र नौमुलेबाट १ हजार ७ सय ९३ जनाले बसाइँसराइ गरेको विवरण स्थानीय तहहरूले दिएका छन् । माथीको तथ्याङक भन्दा कागजमा परिवार गाउँमै देखिन्छ । तर व्यवहारमा गाउँ खाली भइसकेको हुन्छ । भगवतीमाई–२ को २५ घरधुरीबाट सात घरमा सीमित भएको बस्ती त्यसको उदाहरण हो ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले भन्नुभयो रोजगारीका लागी विभिन्न मुलुकमा जाने सुरु भएदेखी गाउँमा बस्ने नागरिकहरु बिस्तारै सहर तिर पस्ने गरेको बताउनुभयो । उहाँले प्रत्येक नागरिक आ आफ्नै कारण गाउँमा छाड्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो रोजगारी,बालबालिकाको राम्रो शिक्षा,बिरामी हुँदा उपचारको सुविधा र कृषि उत्पादनले उचित मूल्य नपाउँदा नागरिक बस्ती छाड्न बाध्य छन । वैदेशिक रोजगारीले पनि गाउँको जनसंख्या संरचनालाई प्रभावित गरेको छ । परिवारको एक सदस्य विदेश गएपछि अन्य सदस्य पनि रोजगारी वा शिक्षाका लागि सहरतिर सर्ने अवस्था आउँछ। अध्यक्ष थापाले भन्नुभयो यसरी एकपछि अर्को परिवार बाहिरिँदा गाउँमा घर त बाँकी रहन्छन्, तर घरभित्रको जीवन हराउँदै जान्छ ।
ग्रामिण विकास अध्यापन गराईरहनुभएका नारायण क्याप्पसका उपप्राध्यापक नरसिह थापाले भन्नुभयो गाउँ रित्तिनुको असर घरको ढोकामा मात्रै देखिँदैन । खेती गर्ने मानिस कम भएपछि खेतबारी प्रभावित हुन्छ, स्थानीय बजारमा ग्राहक घट्छन् । विद्यालयमा विद्यार्थी संख्या घट्छ। चाडपर्वको रौनक पातलिन्छ। विवाह, भोज र सामाजिक काममा जुट्ने मानिस कम हुन्छन्। सबैभन्दा ठूलो असर सामाजिक सम्बन्धमा पर्छ । गाउँ रित्तिँदै गएको सबैभन्दा मार्मिक दृश्य मृत्यु संस्कारमा देखिन थालेको छ उपप्राध्यापक थापाले भन्नुभयो कुनै घरमा मृत्यु हुँदा मलामीका लागि गाउँले जम्मा हुने पुरानो अवस्था कमजोर हुँदै गएको छ ।
सुशासन अभियानकर्ता दुर्लभ बोगटीले भन्नुभयो दैलेखका गाउँमा विकास नभएको होइन । सडक बनेका छन् । विद्युत् पुगेको छ । विद्यालय र स्वास्थ्य संस्था छन् । स्थानीय तहले आफ्नै बजेटबाट विभिन्न योजना सञ्चालन गरिरहेका छन् । तर विकास पुगे–नपुगेको मात्रै होइन विकाससँगै रोजगारी कति पुग्यो स्थानीय उत्पादनले बजार कति पायो युवाले गाउँमै भविष्य देख्ने आधार कति बन्यो भन्ने कुरा महन्वपूर्ण हुन्छ । किनकि सडकले गाउँलाई सहरसँग जोड्यो, तर धेरै युवालाई त्यही सडकले गाउँबाट बाहिर पनि लग्यो ।

संघीयतापछि सरकार गाउँसम्म पुग्यो स्थानीय सरकार बन्यो नागरिकलाई सेवा घरदैलोमै पु¥याउने संरचना बन्यो विकासका योजना गाउँमा पुगे तर सरकारको उपस्थिति मात्रै नागरिकको बसाइँ रोक्ने पर्याप्त आधार बनेन । जलबायुका क्षेत्रका काम गर्ने चक्र भण्डारीले नागरिकको बसाईसराईको कारण जलबायु परिवर्तनले पारेको प्रभावका कारण समेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो जलबायु परिवर्तनले उत्पादनमा ह्रास आएपछि नागरिकले कृषि गर्न छाडे र सहर पसे ।