ग्याँसमा कालोबजारी हुन नदिन बजार अनुगमन

दैलेख समाचारदाता
दैलेख,भदौ २८ गते : हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा ग्याँसको अभाव तथा कालोबजारी हुन नदिन दैलेखको डुंगेश्वर गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ । तीजका बेला ग्याँसको अभावका कारण उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरेको हो । तीजका बेला अत्यावश्यक मानिने ग्याँस तथा पेट्रोलको बिक्री–वितरण, उपलब्धता र मूल्यलाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरिएको टोलीले जनाएको छ । सुर्खेतबाट दैलेख सदरमुकाम आउने सडकखण्डमा पर्ने बजारहरूमा ग्याँसको आपूर्ति तथा बिक्री–वितरणको अवस्थासमेत विशेष रूपमा निगरानी गरिएको थियो ।
सडकखण्डका बजारमा ग्याँस उपलब्ध हुँदाहुँदै व्यापारीको मिलेमतोमा बजारमै बिक्री नगरी दैलेख सदरमुकामतर्फ लैजाने वा कृत्रिम अभाव सिर्जना गर्ने अवस्था नहोस् भन्ने उद्देश्यले समेत अनुगमन गरिएको हो । यस क्रममा सम्बन्धित बजारमा ग्याँसका आधिकारिक बिक्रेता भए–नभएको, ग्याँसको मौज्दात, बिक्री–वितरणको अवस्था तथा उपभोक्ताले सहज रूपमा ग्याँस पाउने अवस्था रहे–नरहेकोबारे जानकारी लिइएको थियो । अनुगमन टोलीले डुंगेश्वर गाउँपालिका–१ चुप्रा बजारका १५ र वडा नं. ६ माथिल्लो डुंगेश्वरका २० गरी ३५ वटा पसलमा अनुगमन गरेको हो । ग्याँस तथा पेट्रोलसँगै खाद्य तथा खुद्रा पसल, होटल, कस्मेटिक र कपडा पसलमा समेत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा ग्याँसको कालोबजारी भए–नभएको, पेट्रोल खुला रूपमा बिक्री–वितरण भए–नभएको, मूल्यसूची राखे–नराखेको तथा पसलमा प्रयोग गरिएका काँटाको अवस्थालगायतको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका जंकफुडलगायत खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिएर प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ । पसल दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरी पसल दर्ता गर्न सुझाव दिइएको छ । यस्तै, उपभोक्ताले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल उपलब्ध गराउन व्यवसायीलाई निर्देशन दिइएको छ । उपभोक्तालाई मूल्य, गुणस्तर र परिमाणमा ठगिन नदिन व्यवसायीलाई सचेत गराइएको अनुगमन टोलीले जनाएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकर थापाले तीजको समयमा बजारमा उपभोक्ता ठगिन सक्ने जोखिम भएकाले अनुगमन गरिएको बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा खुला रूपमा बिक्रीका लागि राखिएको ६ लिटरभन्दा बढी पेट्रोल नियन्त्रणमा लिएर नष्ट गरिएको छ । स्थानीय व्यवसायीलाई खुला रूपमा पेट्रोल बिक्री–वितरण नगर्न पटक–पटक निर्देशन दिइए पनि निर्देशनको पालना नभएपछि पेट्रोल जफत गरी नष्ट गरिएको थापाले बताउनुभयो । उहाँले तीजका बेला ग्याँस तथा पेट्रोलजस्ता अत्यावश्यक वस्तुको कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाइएको बताउनुभयो । ग्याँसको सहज उपलब्धता सुनिश्चित गर्न आधिकारिक बिक्रेता तथा व्यवसायीलाई उपभोक्तालाई नियमित रूपमा बिक्री–वितरण गर्नसमेत आग्रह गरिएको छ । बजार अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता अधिकारको सम्मान गर्दै मूल्यसूची राख्न, खरिदको बिल उपलब्ध गराउन, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न तथा व्यवसाय कानुनअनुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको छ ।

