Loading... आजः आइतवार, भदौ २८, २०८३
Trending

तीन वर्षमा १३५ जनाले गुमाए ज्यान, बालबालिकासमेत जोखिममा

..

कमल शर्मा
दैलेख  :  आत्महत्या एउटा परिवारले गुमाएको सदस्य, अभिभावकले गुमाएको सन्तान र समाजले गुमाएको एउटा सम्भावना हो । दैलेखमा पछिल्ला वर्षमा आत्महत्याका घटना केही घटेको तथ्याङ्क देखिए पनि कम उमेरका बालबालिकासमेत आत्महत्याको घटनामा पर्न थालेपछि रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा १३५ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७९÷८० मा ५७ जनाले आत्महत्या गरेका थिए । २०८०÷८१ मा यो संख्या ४० र २०८१÷८२ मा ३८ मा झरेको छ । आर्थिक बर्ष २०८३÷०८४ को साउन र भदौ महिनामा नौ जनाले आत्महत्या गरेका छन । संख्या घट्दो देखिए पनि यस अवधिमा २६ जना बालबालिकाले आत्महत्याका कारण ज्यान गुमाएको पाइएको छ । बालबालिकाले जीवनको अर्थ बुझ्दै गरेको उमेरमै मृत्युलाई रोज्नु परिवार मात्र होइन, सिंगो समाजका लागि गम्भीर प्रश्न बनेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकाय तीन वटा आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या घटेको भए पनि पछिल्लो समय साना बालबालिकाले समेत आत्महत्या रोज्नु निकै चुनौतीको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सात वर्षकी बालिकाले समेत आत्महत्या गरेको अवस्था आउनु हाम्रो समाजको चेतना निकै कमजोर भएको संकेत हो ।”
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक डा. सुशील समदर्शी कर्णालीमा वयस्कसँगै बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जानु चिन्ताजनक रहेको बताउनुहुन्छ । कर्णालीको भौगोलिक कठिनाइसँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेशले मानसिक स्वास्थ्यमा थप असर पारिरहेको उहाँको भनाइ छ छाउपडी, लैङ्गिक हिंसा, सामाजिक विभेद, आर्थिक समस्या तथा पारिवारिक तनावजस्ता कारणले मानसिक स्वास्थ्यमा चुनौती थपिरहेको डा. समदर्शी बताउनुहुन्छ ।
नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा सहसंयोजक लालबहादुर खड्काले नगरपालिकाले आफ्ना विभिन्न कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी समस्या, त्यसको पहिचान तथा उपचारका विषयमा नागरिकलाई जानकारी गराउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो नगरपालिकाका सबैखाले कार्यक्रममा मानसिक स्वास्थ्य समस्याबारे सचेतना र उपचारको व्यवस्थाका विषयमा जानकारी गराउने गरेका छौँ अघिल्लो वर्षको तुलनामा मानसिक स्वास्थ्य समस्याका कारण हुने आत्महत्याका घटना पनि कम भएको देखिन्छ।”
स्थानीय तहले सचेतना र उपचारको पहुँच विस्तार गरिरहेका भए पनि आत्महत्या रोकथामलाई अझै घर–परिवार र समुदायको तहसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको मनोपरामर्शकताले बताएका छन । उनीहरुले मानसिक समस्या देखिएका व्यक्तिलाई कमजोर वा असामान्य ठान्ने सामाजिक सोच परिवर्तन गर्नुपर्ने देखिन्छ। आत्महत्या रोकथामका लागि घटना भएपछि प्रतिक्रिया दिनेभन्दा जोखिममा रहेका व्यक्तिलाई घटना हुनुअघि नै पहिचान गर्ने, उनीहरूको कुरा सुन्ने र समयमै सहयोग गर्ने प्रणाली आवश्यक रहेको सरोकारवाला निकायले बताएका छन । तीन वर्षमा आत्महत्याका घटना ५७ बाट ४० हुँदै ३८ मा झर्नु सकारात्मक संकेत भएपनि १३५ जनाको मृत्यु हुँदा २६ जना बालबालिकाको मृत्युले सामाजिक तथा मानसिक स्वास्थ्य उपचारका क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन ।