
दैलेख : दैलेखमा दुई हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार ११ स्थानीय विद्यालय जाने २ हजार ६ सय ६६ र विद्यालय नजाने २ सय १० गरी जम्मा २ हजार ८ सय ७६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीका अनुसार आठबीस नगरपालिकामा ३८०, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २७८, दुल्लु नगरपालिकामा ३६८, नारायण नगरपालिकामा ३०८, गुराँस गाउँपालिकामा १८३, ठाँटीकाँध गाउँपालिकामा २३२, डुङ्गेश्वर गाउँपालिकामा १७२, नौमुले गाउँपालिकामा २०७, भगवतीमाई गाउँपालिकामा १५५, भैरवी गाउँपालिकामा २०५ र महाबु गाउँपालिकामा १७८ जना विद्यालय जाने किशोरी लक्षित गरेर खोप लगाउन लागिएको छ । खोप अधिकृत रेग्मीले विद्यालय नजाने किशोरीलाई पनि खोप अभियानमा समेटिएको छ । विद्यालय नजाने २१० किशोरीहरुलाई स्वास्थ्य सस्थामा समेत खोप लगाउने गरी प्रवन्ध गरिएको छ । “लक्षित उमेर समूहका कुनै पनि किशोरी खोपबाट छुट्न नदिन विद्यालय जाने र विद्यालय नजाने दुवै समूहलाई समेटेर अभियान सञ्चालन गरिनेछ,” रेग्मीले भन्नुभयो । स्थानीय तहको समन्वयमा विद्यालय तथा समुदायस्तरबाट लक्षित किशोरीको पहिचान गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका प्रमुख नमराज शाहीले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहको विशेष भूमिका रहने बताउनुभयो । उहाँले लक्षित सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहले स्वास्थ्य संस्था, विद्यालय र समुदायसँग समन्वय गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो एचपीभी खोपबाट पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न सकिने भएकाले लक्षित किशोरीलाई अनिवार्य रूपमा खोपको पहुँचमा ल्याउनका लागी रेडियो बाट प्रचार प्रसार समेत गर्नुपर्नेछ ।
दैलेखका ११ स्थानीय तहमा दुई चरणमा खोप लगाउने गरी योजना निर्माण गरिएको छ । १६ गते देखी १८ गते सम्म चार वटा स्थानीय तह २२ गते देखी २५ गते सम्म सात वटा स्थानीय तहमा खोप लगाईदैछ ।

