Loading... आजः बुधबार, भदौ १७, २०८३
Trending

छोराको सुखद खबरको प्रतीक्षामा वृद्ध दम्पती

..

कमल शर्मा
दैलेख  :   ८० वर्षीय झरबहादुर थापा घरको बार्दलीमा बसेर मोबाइलको घण्टी कुरिरहनुभएको छ । सात दिनदेखि उहाँको कान एउटै आवाज सुन्न आतुर छ—‘बुबा, म ठिक छु ।’ तर अहिलेसम्म त्यो फोन आएको छैन । ७३ वर्षीया आमा कौशिला थापाका आँखा आँसुले भरिएका छन् । मोबाइलमा फोन आउँदा एकछिन उहाँको मन झसङ्ग हुन्छ—कतै कान्छो छोरा नरबहादुरकै फोन पो आयो कि ? तर हरेकपटक आशा निराशामा बदलिन्छ ।
भदौ १० गते रसुवामा आएको बाढीमा परी कान्छो छोरा नरबहादुर बेपत्ता भएपछि वृद्ध दम्पतीको जीवन अहिले एउटै फोनको प्रतीक्षामा रोकिएको छ । सात दिन बितिसक्दा पनि नरबहादुरको अवस्था अज्ञात छ । भगवतीमाई गाउँपालिका–१ का नरबहादुर नेपाल सरकारको ‘एक गाउँ, एक प्राविधिक’ नीतिअनुसार करार सेवामा काम गर्न रसुवा पुग्नुभएको थियो । गोसाईंकुण्ड गाउँपालिकामा नायव प्राविधिक सहायक पदमा पदमा कार्यरत उहाँ गाउँपालिकाले उपलब्ध गराएको सरकारी क्वाटरमा बस्दै आउनुभएको थियो । बाढी आउनुअघि बिहान घर परिवार सँग फोनमा कुरा भएको थियो । आफू ठिकै रहेको बताउनुभएका नरबहादुर त्यसपछि परिवारको सम्पर्कमा आउनुभएको छैन ।

‘बाढी आउनुअघि बिहान घरमा कुरा भएको थियो । उहाँले आफूलाई ठिकै भएको बताउनुभएको थियो । त्यसपछि सम्पर्क हुन सकेको छैन,’ नरबहादुरका भिनाजु प्रेमबहादुर खड्काले भन्नुभयो । नरबहादुरको अवस्था पत्ता लगाउन आफन्तहरू विभिन्न ठाउँमा खोजीमा छन् । प्रेमबहादुर खड्का र दाजु बसन्त थापा नुवाकोट पुग्नुभएको छ । अन्य दाजुहरू चितवन र नवलपरासीसम्म पुगेर खोजी गरिरहेको भएपनि सातौ दिन सम्म कुनै खवर प्राप्त हुने नसकेको उहाँहरुले जानकारी दिनुभएको छ । यता घरमा रहनुभएका बृद्ध आमाबुवाको चाहना भने एउटै छ—छोरा जीवितै भएको खबर सुनियोस् । छोराको विवाह गरिदिने र बुहारी भित्र्याएर बुढेसकालमा छोराको घरजम हेर्ने उनीहरूको सपना थियो । ‘अब हामी पनि बुढा भयौँ, जाने बेला आउँदैछ । छोराको विवाह गरिदिएको हेर्ने ठूलो रहर थियो,’ परिवारका साइला दाजु भुपेन्द्र थापाले वृद्ध आमाबुवाको पीडा सुनाउँदै भन्नुभयो ।
यस्तै प्रतीक्षा र पीडामा छन् डुङ्गेश्वर गाउँपालिका–५ का प्रकाश आचार्यका बुवा यामलाल आचार्यको दप्पती । घरको माइलो छोरा रहनुभएका प्रकाश ७ गते अधिकृतको परीक्षा दिन रुपन्देहीको बुटवल पुग्नुभएको थियो । परीक्षा दिएर अधिकृत बन्ने सपना बोकेर भदौ ९ गते रसुवा फर्किएको भोलिपल्टै आएको बाढीमा परी उहाँ बेपत्ता हुनुभयो । अधिकृतमा नाम निकालेर रसुवाको जागिर छाड्ने र विवाह गर्ने तयारीमा रहेका प्रकाशको सपना बाढीपछि कहाँ रोकियो, परिवारलाई थाहा छैन ।
प्रकाश आर्चायका मामा पुर्ण प्रसाद तिवारीले भान्जाको खोजीका लागी चितवन,नवलपरासी,धादिङ पुगीसकेको भएपनि अहिले सम्म कुनै खवर प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले चितवनमा भेटिएको शवमा भान्जाको जस्तै निधारमा चिनो भएको देखिएपछि चितवन पुगेको भएपनि भान्जा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो प्रहरीले शव हेर्न दिदैन फोटाका आधारमा चिन्नु पर्ने अबस्था छ अव डिएनएको रिपोर्ट कुर्ने वा अझै कतै जीवीतै हुनुहुन्छकी भनेर कुर्ने बाहेक अन्य विकल्प रहेन । प्रकाशले यसअघि पनि रसुवाबाट सरुवा माग्नुभएको थियो । तत्काल वडाले सहमति नदिएपछि दुई वर्ष पुगेपछि सरुवा गर्ने सोचमा हुनुहुन्थ्यो ।

दुई वर्ष पुगेपछि सरुवा गरौँ भन्दा अव अधिकृतमा नाम निकाले जानेहो मामा भन्नुहुन्थ्यो अधिकृतको परीक्षा दिएको तीन दिनपछि बेपत्ता हुनुहुन्छ मामा तिवारीले भन्नुभयो । ‘अधिकृतमा नाम निकालेर त्यहाँबाट निस्कने र विवाह गर्ने तयारीमा हुनुहुन्थ्यो । अहिले घरमा रुवाबासी चलेको छ,’ तिवारीले भन्नुभयो । नरबहादुरका वृद्ध आमाबुवा घरमै बसेर एउटा फोनको प्रतीक्षा गरिरहेका छन् । प्रकाशका बुवा यामलाल भने छोराको खोजीमा हिँडिरहनुभएको छ ।