फैसला कार्यान्वयन गर्न प्रहरीलाई महासंघको आग्रह


दैलेख : पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरणमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न नेपाल पत्रकार महासंघ दैलेखले प्रहरीलाई आग्रह गरेको छ । अदालतबाट दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएका मुख्य अभियुक्त अझै पक्राउ नपरेको भन्दै महासंघ जिल्ला कार्यसमितिको सोमवार बसेको बैठकले फैसला कार्यान्वयनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरिएको हो ।
पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि अदालतबाट फैसला भई जन्मकैदको फैसला सुनाइएका अभियुक्त पक्राउ गर्न प्रहरीले चाँसो नदिएको भन्दै तत्काल पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्न आग्रह गरिएको महासंघले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ दैलेखका कमल शर्माले अदालतबाट फैसला भइसकेको अवस्थामा त्यसको कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकार थापा हत्या प्रकरणमा दोषी ठहर भएका अभियुक्तलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउन प्रहरी प्रशासनसँग आग्रह गरिएको बताउनुभयो । “अदालतले फैसला गरिसकेको छ । फैसला कार्यान्वयन गर्ने दायित्व राज्यको हो । दोषी ठहर भएका व्यक्ति पक्राउ नपर्नु गम्भीर विषय हो । महासंघले प्रहरीलाई फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ,” अध्यक्ष शर्माले भन्नुभयो ।
पत्रकार थापाका भाइले भने अदालतको फैसला कार्यान्वयन नभए आफूहरू थप कानुनी बाटो रोज्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले दोषी ठहर भएका अभियुक्तलाई प्रहरीले पक्राउ नगरे अदालतको मानहानीसम्बन्धी मुद्दा लिएर अदालत जाने बताउनुभयो । “अदालतले दोषी ठहर गरिसकेको व्यक्तिलाई प्रहरीले पक्राउ नगर्ने हो भने अदालतको फैसला नै कार्यान्वयन नहुने अवस्था आउँछ । प्रहरीले पक्राउ नगरे हामी अदालतको मानहानीको मुद्दा लिएर अदालत जान्छौँ महासंघका पूर्व अध्यक्ष समेत रहुनुभएका यज्ञराज थापाले भन्नुभयो ।
पत्रकार डेकेन्द्रराज थापालाई २०६१ असार १२ गते दैलेखको खानेपानी समस्या समाधानका लागि मुहानतर्फ गएका बेला तत्कालीन विद्रोही माओवादीले अपहरण गरेको थियो। अपहरणको करिब डेढ महिनापछि २०६१ साउन २७ गते दैलेखको द्वारीमा कुटपिट गरी उहाँको हत्या गरिएको थियो ।
तत्कालीन माओवादीले २०६१ साउन ३२ गते विज्ञप्तिमार्फत थापाको हत्या भएको पुष्टि गरेको थियो । २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दर्ता भएको थियो। चौतर्फी दबाबपछि २०६९ माघ ८ गते प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपीहरूलाई पक्राउ गर्न थालेको थियो। २०६९ फागुनमा जिल्ला अदालत दैलेखमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पहिलो फैसला गर्दै पक्राउ परेका निरकबहादुर घर्ती, हरिनारायण पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष, लक्षिराम घर्तीमगरलाई एक वर्ष छ महिना र वीरबहादुर केसीलाई एक वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि २०७८ मंसिर २६ गते मुख्य अभियुक्त बमबहादुर खड्का ‘मुक्ति’ लगायतका अभियुक्तविरुद्ध जन्मकैद सजाय हुने फैसला गरिएको थियो ।पत्रकार महासंघले दिएको अनुरोध पत्र बुझ्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवण कुमार बिकले आफुहरुले तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।

