जीवितै भेटिने आशा बोकेर बाढी प्रभावित क्षेत्रमा आफन्त


कमल शर्मा
दैलेख : रसुवा बाढीमा परी आफ्ना मान्छे सम्पर्कविहीन भएपछि दैलेखका परिवारहरू यतिबेला एउटै आशामा छन बेपत्ता भएका आफन्त जीवितै भेटिऊन् । बाढीले आफन्तसँगको सम्पर्क टुटाए पनि परिवारले आशा मारेका छैनन् । यही आशा बोकेर उनीहरू कोही रसुवा, कोही नुवाकोट र कोही चितवनतर्फ लागेका छन् । भगवतीमाई गाउँपालिका–१ का नरबहादुर थापासँग बाढी आउनुअघि बिहान घरपरिवारको कुराकानी भएको थियो। त्यसबेला आफू ठिकै रहेको बताउनुभएका थापा त्यसपछि भने परिवारको सम्पर्कमा आउनुभएको छैन । गोसाईंकुण्ड गाउँपालिकामा नाप्रस पदमा कार्यरत थापा गाउँपालिकाले उपलब्ध गराएको सरकारी क्वाटरमा बस्दै आउनुभएको उहाँका भिनाजु प्रेमबहादुर खड्काले बताउनुभयो । “बाढी आउनुअघि बिहान घरमा कुरा भएको थियो । उहाँले आफूलाई ठिकै भएको बताउनुभएको थियो । त्यसपछि सम्पर्क हुन सकेको छैन,” खड्काले भन्नुभयो ।
नरबहादुरको अवस्था पत्ता लगाउन उहाँका भिनाजु प्रेमबहादुर खड्का र दाजु बसन्त थापा नुवाकोट पुग्नुभएको छ । उहाँहरू सम्भावित स्थानमा पुगेर आफन्तको खोजी गरिरहनुभएको छ । खोजीमा हिँडिरहनुभएका नर बहादुरका भिनाजु प्रेमबहादुर खड्काले मनमा भने अझै एउटै विश्वास छ—नरबहादुर कतै सकुशल भेटिनुहुनेछ ।
यस्तै, डुङ्गेश्वर गाउँपालिका–५ का प्रकाश आचार्यको खोजीमा उहाँका बुवा यामलाल आचार्य र मामा पूर्ण तिवारी पनि घटनास्थलतर्फ लाग्नुभएको छ । तर, अन्यत्र खोजी गर्नुअघि उहाँहरू चितवन पुगेर त्यहाँ भेटिएका शव हेर्ने तयारीमा रहेको बताउनुभएको छ । प्रकाशका मामा पूर्ण तिवारीका अनुसार चितवनमा भेटिएका २ सय ३३ शवमध्ये पहिचान हुन नसकेका २ सय २९ शव गाड्ने निर्णय भएपछि आफूहरू पहिले चितवन पुग्न लागेको बताउनुभयो । “पहिला चितवन पुगेर शव हेर्छौँ। त्यहाँ नभेटिएपछि मात्रै अन्य ठाउँमा खोजीका लागि जान्छौँ,” तिवारीले भन्नुभयो । परिवार र आफन्तका खोजी यात्रा सहज छैन। बाटोभरि मनमा अनेक प्रश्न छन्, तर आशा अझै बाँकी छ । शव भेटिन्छ कि भन्ने डरभन्दा जीवितै भेटिन्छन् कि भन्ने आशाले आफन्तहरूलाई खोजीमा हिडिरहेको तिवारीको भनाइछ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवा पुगेका दैलेखका सात जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने पाँच जनाको अवस्था अझै अज्ञात छ । परिवारहरू सम्बन्धित निकायको खोजी तथा उद्धार प्रयाससँगै आफैं पनि सम्भावित क्षेत्रमा पुगेर आफ्ना मान्छेको अवस्था खोजिरहेको प्रशानले जानकारी दिएको छ । दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले रसुवामा बाढि आएपछि आफ्ना मान्छे रसुवा जिल्लाका विभिन्न क्षेत्रमा रहेको भनी सात जनाले जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएको बताउनुभयो । उहाँले जिल्ला प्रशासनले समेत दैलेख जिल्लाका ११ स्थानीय तह बाट काम तथा रोजगारीको सिलसिलामा त्यता भएकाहरुको खोजी तथा उद्धारका लागी भए नभएको एकिङका लागी सुचना जारी गरिएको बताउनुभयो ।
डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकाका चार जना रसुवामा रहेको भएपनि दुई जना सम्र्पकमा आएको र अन्य दुई जनाको अवस्था अज्ञात रहेको बताउनभुयो । उहाँले भन्नुभयो परिवारका सदस्य संग नियमित सम्र्पक गरेका छौँ सहयोगका लागी तयारीमा अबस्थामा रहेको बताउनुभयो । बाढीले धेरै कुरा बगायो, तर परिवारको आशा भने अझै बगाएको छैन । आफन्तहरू अहिले पनि त्यही आशामा छन ,कतैबाट फोन आउला, कतैबाट खबर आउला र उनीहरू आफ्ना मान्छेलाई जीवितै भेट्ने आशमा दौडिरहेको उहाँको भनाइछ ।
’

