प्रेस युनियन दैलेखको सभापतिमा अभिषेक अनुराग

दैलेख : नेपाल प्रेस युनियन दैलेखको आठौँ जिल्ला अधिवेशनबाट अभिषेक अनुरागको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ।
आइतबार सम्पन्न अधिवेशनबाट उपसभापतिमा गणेश शाही, सचिवमा भीम सिजापति, सहसचिवमा योगेश खड्का र कोषाध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन्। यस्तै, कार्यसमिति सदस्यमा अस्मित थापा, राजेश नेपाली, हिक्मत ज्ञवाली र जितबहादुर थापा ‘रोशन’ निर्वाचित भएका छन्।
कार्यक्रममा सहभागी पत्रकारहरूले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारितामा देखिएका चुनौतीलाई सम्बोधन गर्न पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय मुद्दालाई प्रभावकारी रूपमा सञ्चारमाध्यममा उठाउँदै नागरिकका आवाजलाई प्राथमिकताका साथ सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
अधिवेशनमा नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मी, कर्णाली प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री, कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विष्णुप्रसाद न्यौपाने र नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कम शर्मा लगायतले धारणा राखेका थिए।


