४२ सय मिटर उचाइमा महाबुधाम मेला, भक्तजनको घुइँचो


दैलेख : दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीयस्थल महाबुधाममा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु हुने मेलामा दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, नेपालगञ्जलगायत जिल्लाका भक्तजन तथा भारतमा बसोबास गर्ने नेपालीसमेत दर्शन र पूजाआजाका लागि महाबुधाम पुगेका छन् ।
महाबुधाममा रहेको शिवलिंगको दर्शन गरेमा मनले मागेको वर प्राप्त हुने र पाप नष्ट हुने धार्मिक विश्वास छ । यही विश्वासका कारण प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा ठूलो संख्यामा भक्तजन महाबुधाम पुग्ने गरेका छन्। धार्मिक किंवदन्तीअनुसार महाबु लेकमा आचार्य ब्राह्मणका बोल्न नसक्ने छोरा भैंसी चराउन जाँदा ढुंगामाथि सुतेका बेला ढुंगाभित्रबाट केही उत्पन्न भएको देखेका थिए । उनले आँसीले खोतल्दा शिवलिंग उत्पन्न भएको र भगवान् शिवले उनलाई बोल्न तथा वेद पढ्न सक्ने वरदान दिएको जनविश्वास छ। भगवान् शिवले शिवलिंगमा सधैँ दूधको धारा चढाउन र यसबारे अरूलाई नभन्न आदेश दिएको किंवदन्तीमा उल्लेख छ ।तर, दूध चढाइरहेको देखेका अन्य गोठालाले त्यसबारे नभने मार्ने धम्की दिएपछि उनले बाध्य भएर रहस्य बताए । आफूले भगवान् शिवबाट पाएको वरदानबारे बताएलगत्तै उनको मृत्यु भएको धार्मिक किंवदन्ती छ ।
महाबुधाम मन्दिरका पुजारी रामानन्द काफ्लेका अनुसार यो किंवदन्ती करिब दुई सय वर्ष पुरानो हो। त्यही समयदेखि प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा महाबु लेकमा तीन दिनसम्म मेला लाग्दै आएको छ । पुजारी काफ्लेले महाबुधाममा नेपालकै सबैभन्दा उच्च स्थानमा मेला लाग्ने दाबी गर्नुभयो । उहाँका अनुसार शिवलिंगको दर्शन गरेमा मनले मागेको कुरा पूरा हुने, सन्तान नभएकाले सन्तान मागे सन्तान प्राप्त हुने र कुनै पाप गरेको भए पाप नाश हुने धार्मिक विश्वास रहँदै आएको छ ।
महाबुधामको मेलामा महिलालाई जान नमिल्ने परम्परा रहेको भनिए पनि पछिल्ला केही वर्षदेखि महिलाहरूको सहभागिता उल्लेख्य रूपमा बढेको छ । यद्यपि मन्दिरका पुजारी र उनका आफन्तका परिवारका महिला भने शिवलिंगको दर्शन गर्न नजाने परम्परा रहेको पुजारी काफ्लेले बताउनुभयो । मेलाका क्रममा आन्तरिक पर्यटक तथा भक्तजनको ठूलो घुइँचो लागे पनि पर्याप्त होटल तथा बासस्थानको अभाव रहेको गुनासो गरिएको छ। लगातारको वर्षाका कारण नारायण नगरपालिका–१० भवानीको ओखरबासमा गएको पहिरो नारायण नगरपालिका र महाबु गाउँपालिकाको समन्वयमा पन्छाएपछि महाबुधाम जाने यात्रुलाई केही सहज भएको भक्तजनले बताएका छन ।

