Loading... आजः सोमवार, भदौ १५, २०८३
Trending

एक महिनामै बलात्कारका आठ मुद्दा दर्ता


दैलेख : दैलेखमा महिला तथा बालिकामाथि हुने यौन हिंसाका घटना चिन्ताजनक देखिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको साउन महिनाको तथ्याङक अनुसार दैलेखमा एक महिनाको अवधिमा जबरजस्ती करणीका पाँच र जबरजस्ती करणी उद्योगका तीन गरी आठ वटा मुद्दा दर्ता भएका छन् । साउन महिनामा जिल्लामा दर्ता भएका कुल २९ मुद्दामध्ये बलात्कार तथा बलात्कार प्रयाससँग सम्बन्धित मुद्दा मात्रै आठ वटा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको तथ्यांकमा जबरजस्ती करणीका पाँन मुद्दा जघन्य अपराधअन्तर्गत र जबरजस्ती करणी उद्योगका तीन मुद्दा गम्भीर अपराधअन्तर्गत दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषि गौत्तमले एक महिनाको अवधिमा यौनजन्य हिंसासम्बन्धी मुद्दाको संख्या उल्लेख्य देखिनुले महिला तथा बालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखाएको बताउनुभयो । उहाँले सामुहिक बलात्कार देखी जवरजस्तीकरणका मुद्धा बढ्नु जिल्लामा महिला तथा बालबालिकाको सुरक्षामा चुनौती थपीएको बताउनुभयो । उहाँका दैलेखका अनुसार साउनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २९ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये घरेलु हिंसाका २१ र सामाजिक हिंसाका आठ वटा उजुरी रहेका छन ।
स्थानीय तहका आधारमा हेर्दा महिला तथा बालबालिकासम्बन्धी उजुरी सबैभन्दा बढी महाबु गाउँपालिकामा पाँच वटा दर्ता भएका छन ्। दुल्लु नगरपालिकामा तीन, डुंगेश्वर गाउँपालिकामा तीन, भैरवी गाउँपालिकामा तीन, आठबीस नगरपालिकामा दुई, गुराँस गाउँपालिकामा दुई , नौमुले गाउँपालिकामा दुई र नारायण नगरपालिकामा एक वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक(डिएसपी) श्रवण कुमार बिकले विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रममार्फत प्रहरीले ‘गुड टच, ब्याड टच’, बाल यौन दुव्र्यवहार न्यूनीकरण, बालविवाह न्यूनीकरण, लैंगिक हिंसा न्यूनीकरण, घरेलु हिंसा न्यूनीकरण तथा मानव बेचबिखन र ओसारपसार न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि महिला तथा बालबालिका माथी हुने हिंसा न्यनुीकरण हुन नसक्नु दुखद भएको बताउनुभयो । उहाँका अनुसार साउन महिनामा दैलेखमा अन्य अपराधका घटनासमेत उल्लेख्य छन । यसै अवधिमा प्रहरीले हराएका महिला, पुरुष तथा बालबालिकाको खोजीमा समेत सक्रियता देखाएको छ। साउनमा १३ महिला, ६ पुरुष र ७ बालबालिका गरी २६ जना हराएको विवरण प्राप्त भएकोमा सबै २६ जना फेला परेको प्रहरीको तथ्यांक छ । पत्रकार भेटघाट कार्यक्रममा प्रहरी प्रमुख विकले महिला तथा बालिकामाथि हुने यौन हिंसाका न्युनीकरणका लागी परिवार, विद्यालय, स्थानीय तह र समुदाय र संचारक्षेत्रको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पीडितलाई न्यायको पहुँचमा पु¥याउने र यस्ता घटना दोहोरिन नदिन रोकथाम तथा सचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउनुका लागी सरोकारवाल निकाय सबैलाई आग्रह समेत गर्नुभएको छ । लागूऔषध नियन्त्रणतर्फ ब्राउन सुगरजस्तो देखिने ३८० मिलिग्राम पदार्थ बरामद गर्नुका साथै अवैध गाँजाका २७५ वटा बोट फँडानी गरी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।