नदीमा बेपत्ता दुई जनामध्ये एकको शव भेटियो

सल्यान : सल्यानस्थित भेरी नदीमा जिपसहित खसेर एक सातादेखि वेपत्ता दुई जनामध्ये एक जनाको शव सुर्खेतमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेतको बराह ताल गाउँपालिका वडा ४ को भेरी नदी किनारमा हेमराज बुढाथोकीको शव भेटिएको हो ।
गाडीचालक कुमाख गाउँपालिका –५ सल्यान निबासी २३ बर्षिय हेमराजको शव बुधबार सुर्खेतस्थित भेरी नदी किनारमा भेटिएको सल्यान जिल्लाका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिनुभयो । शवलार्इ पोस्टमार्टमका लागि सुर्खेतकै अस्पताल लगिएको छ।
दुर्घटनामा वेपत्ता अर्का एकजना र गाडीको अवस्था अझै अज्ञात रहेको पनि प्रहरीले जनाएको छ । गाडीधनी सिद्धकुमाख ४ सल्यान निबासी २३ बर्षिय भिम बहादुर रानालार्इ अझै फेला पार्न नसकिएको बताइएको छ ।
साउन २७ गते दिउँसो २ बजेतिर सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१ अम्रास्थित छिन्चु जाजरकोट सडक खण्डमा वालुवासंग्राहीबाट सल्लिबजारतर्फ जाँदैगरेको ४ जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडकबाट भेरी नदीमा खसेको थियो । गाडीमा सवार दुई जनाले पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।


