यादका थुँगाहरू ,आमा र आँसु लोकार्पण

सुर्खेत : साहित्यकार बसन्तीकुमारी शाहीका दुई नयाँ कृति ‘यादका थुँगाहरू र आमा र आँसु लोकार्पण गरिएको छ । फ्युचर नेपालद्धारा शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख उपस्थितिमा दुवै कृतिको लोकार्पण गरिएको हो ।
‘यादका थुँगाहरू कविता र आमा र आँसु कथा संग्रह हुन् । हुम्ला घर भएकी शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ । । प्रशासनिक जिम्मेवारीसँगै साहित्य सिर्जनामा निरन्तर सक्रिय शाहीले यसअघि पनि कविता तथा अन्य साहित्यिक कृतिहरू प्रकाशित गरिसकेकी छन् । ‘यादका थुँगाहरू’ कविता सङ्ग्रहमा १४२ वटा कविता समावेश छन् भने ‘आमा र आँसु’ कथा सङ्ग्रहमा १४ वटा कथा संग्रहित छन् । यी दुवै कृतिले कर्णालीको सामाजिक यथार्थ, महिलाले भोग्दै आएका पीडा, विभेद, कुरीति, कुसंस्कार, विकृति–विसङ्गति तथा विकासप्रतिको आकांक्षालाई साहित्यिक भाषामा प्रस्तुत गरेका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममा लेखक शाहीले कर्णालीका जनजीवन, संघर्ष, मानवीय संवेदना र परिवर्तनको चाहनालाई आफ्ना रचनाको केन्द्रमा राखेको बताउनुभयो । साहित्यकार शाहीले हुम्ली महिलाले भोगेको दुःख आफूले पनि नजिकबाट अनुभूत गरेको उल्लेख गर्दै त्यही अनुभवलाई साहित्यमा रूपान्तरण गर्ने प्रयास गरेको बताउनुभयो । प्रदेश प्रमुख जोशीले शाहीका कृतिहरूले कर्णालीको वास्तविक जीवनलाई साहित्यमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताउँदै भने, यी कृतिले कर्णालीका मात्र होइन, सुदूरपश्चिमका महिलाहरूले भोगेका साझा पीडा, संघर्ष र सामाजिक अवस्थाको प्रतिनिधित्व गरेका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा महिला साहित्यकारको उपस्थिति अझै सीमित रहेको उल्लेख गर्दै बसन्तीकुमारी शाहीका कृतिले त्यस अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । कृतिमाथि साहित्यकारद्धय डा नवराज केसी र महेशविक्रम शाह र पत्रकार ज्योति कटुवालले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।


