तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दैलेख : नेपाल प्रहरी श्रीमती संघले दैलेखका तीन विद्यालयका १ सय ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। संघले शुक्रबार नारायण नगरपालिका–१ स्थित इश्वरी प्रावि साँडु, दैलेख सदरमुकामस्थित बाल मन्दिर प्रावि तथा दुल्लुस्थित नेपाल राष्ट्रिय मावि कीर्तिखम्बाका विद्यार्थीलाई विद्यालयमै पुगेर झोला, कापी, कलम, ज्यामेट्री बक्स, कम्बललगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर पाउनुपर्ने भएकाले शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी श्रीमती संघले सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइएको सहयोगले अध्ययनमा थप प्रेरणा मिल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो ।


