कर्णालीको तेइस प्रतिशत खेत बाँझै

सुर्खेत : साउन महिनाको दोस्रो हप्ता सम्म कर्णाली प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । आकासे पानीको भर पर्नुपर्ने अवस्थामा ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन् । पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यस वर्ष धान रोपाइँ अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको ७७।०५ प्रतिशतमा मात्रै रोपाइँ सकिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताउनुभयो । कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल ४३ हजार २९० हेक्टरमध्ये ३३ हजार ३५३ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । कर्णालीमा अझै २३.०५ प्रतिशत खेत अझै बाँझै छ । गत वर्ष कर्णालीमा यही अवधिसम्म ८३.२३ प्रतिशत रोपाइँ भएको थियो ।
समयमै मनसुन सक्रिय नहुँदा आकासे पानीमा निर्भर किसानले रोपाइँ सार्न बाध्य छन् । सिँचाइ सुविधा उपलब्ध भएका तथा पर्याप्त वर्षा भएका हिमाली क्षेत्रमा भने रोपाइँ उल्लेख्य रूपमा अघि बढेको निर्देशक रोकायले जानकारी दिनुभयो । अघिल्लो वर्ष यस समयमा कर्णालीका धेरै स्थानमा रोपाइँ सकिएको थियो । जिल्लागत तथ्याङ्कले पनि सिँचाइको उपलब्धताले रोपाइँको गतिमा प्रत्यक्ष प्रभाव पारेको देखाएको छ । कर्णालीका १० वटा जिल्लामध्ये जुम्लामा मात्र रोपाइँ सकिएको छ अर्थात् शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा शतप्रतिशत प्रतिशत, डोल्पामा ९८ प्रतिशत, हुम्ला र मुगुमा ९५/९५ प्रतिशत, रुकुमपश्चिम र सल्यानमा ९२/९२ प्रतिशत, जाजरकोटमा ९० प्रतिशत, कालीकोटमा ८५ प्रतिशत र दैलेखमा ७९ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम सुर्खेतमा ५५ प्रतिशत मात्र रोपाइँ भएको छ ।
क्षेत्रफलका आधारमा जुम्लामा दुई हजार ८८८ हेक्टरमा नै धान रोपिएको छ । सल्यानमा छ हजार १३४ हेक्टरमध्ये पाँच हजार ६४३ हेक्टर, मुगुमा एक हजार ६४० हेक्टरमध्ये एक हजार ५५८ हेक्टर, दैलेखमा सात हजार ६२० हेक्टरमध्ये छ हजार २० हेक्टर, जाजरकोटमा तीन हजार ५८ हेक्टरमध्ये दुई हजार ७५२ हेक्टर, हुम्लामा ६१५ हेक्टरमध्ये ५८४ हेक्टर, डोल्पामा २७९ हेक्टरमध्ये २७३ हेक्टर, रुकुमपश्चिममा तीन हजार ४३ हेक्टरमध्ये दुई हजार ६५८ हेक्टर, कालीकोटमा तीन हजार ९२ हेक्टरमध्ये दुई हजार ६५८ हेक्टर र सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा १४ हजार ९२१ हेक्टरमध्ये आठ हजार २०७ हेक्टरमा मात्र धान रोपिएको छ ।
धान रोपाइँ ढिलो हुँदा बिरुवा परिपक्व हुन लाग्ने समय छोटिने, बोटको वृद्धि कमजोर हुने तथा अन्ततः उत्पादन घट्ने जोखिम रहने कृषि विज्ञ बताउँछन् । विशेष गरी वर्षामा आधारित खेती प्रणाली भएका क्षेत्रमा समयमै रोपाइँ हुन नसके प्रतिहेक्टर उत्पादन घट्ने सम्भावना बढ्छ ।
ढिलो रोपाइँले बालीमा रोगकिराको जोखिम बढ्नुका साथै कटानी पनि ढिलो हुने भएकाले समग्र कृषि चक्र प्रभावित हुने कृषिविज्ञ पोषण घिमिरेले बताउनुभयो । उहाँका अनुसार नेपाल अझै धानचामलमा आत्मनिर्भर हुन सकेको छैन । सिँचाइको अभाव, समयमा रासायनिक मल उपलब्ध नहुनु, गुणस्तरीय बिउको सीमित पहुँच, खेतीयोग्य जमिन घट्दै जानु र जलवायु परिवर्तनका कारण आवश्यक उत्पादन हुन नसकेको जनाइएको छ ।साभार गोरखापत्र


