गाउँपालिका परिसरमा ठेकी–मदानी स्तम्भ स्थापना

दैलेख : गुराँस गाउँपालिकाले गाउँपालिका परिसरमा ठेक मदानीको स्तम्भ राखेको छ । गुराँस गाउँपालिकाको परिसरमा स्थापना गरिएको उक्त स्तम्भको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गर्नुभएको हो । तत्कालीन समयमा गुराँसेमा गाइबान्ना भन्ने स्थानले परिचत भएको र यसको पहिचाँन बिस्तारै मेटिदै गएपछि त्यसलाई जोगाई राख्न ठेक मदानीको स्तम्भ राखिएको गाउँपालिकाले जानकारी दिएको छ ।
दैलेख पशुपालन तथा दुग्ध उत्पादनको क्षेत्रमा पहिचान बनाएको जिल्ला भएकाले यहाँको मौलिकता र परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले स्तम्भ स्थापना गरिएको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले बताउनुभयो ।उहाँले पुस्तौँदेखि चल्दै आएको पशुपालन तथा दुग्धजन्य परम्परालाई संरक्षण गर्दै किसानलाई दुग्ध उत्पादनमा प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।“गोरसपात दैलेखको सम्पदा, सम्मान, जीवन, कला, संस्कृति र गौरव हो,”उहाँले भन्नुभयो ।
ठेकी मदानीको स्तम्भको अनावरण गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मन्त्री शाहले परम्परागत कृषि तथा पशुपालन संस्कृतिसँग जोडिएका यस्ता मौलिक कला र सम्पदाको संरक्षणले स्थानीय पहिचान कायम गर्न तथा पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताउनुभयो । उहाँले पछिल्लो समय आधुनिकता र बदलिँदो जीवनशैलीका कारण नेपाली समाजका मौलिक संस्कार, संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका धेरै महत्वपूर्ण पक्षहरू क्रमशः लोप हुँदै गइरहेको बताउनुभयो। उहाँले नेपाली ग्रामीण जीवन, पशुपालन तथा दुग्ध संस्कृतिसँग गहिरो रूपमा जोडिएको मही पार्ने ठेकी–मदानीको परम्परा नयाँ पुस्ताका लागि सम्झनाको विषय बन्दै गइरहेको अवस्थामा गुराँस गाउँपालिकाले मौलिकता झल्किने ‘मही पार्ने ठेकी–मदानी’ स्तम्भ स्थापना गर्नु प्रशंसनीय कार्य भएको उहाँले बताउनुभयो।


