पाँचहजार घरधुरी अझै सुरक्षित खानेपानीको पहुँचबाहिर


कमल शर्मा
दैलेख : दुल्लु नगरपालिकामा निर्माण भएका अधिकांश खानेपानी आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसक्दा अझै पाँच हजार ३९५ घरधुरी सुरक्षित खानेपानीको पहुँचबाट बाहिर रहेको पाइएको छ । दुल्लु नगरपालिकामा रहेका नौ हजार ५३ घरधुरीमध्ये पाँच हजार ३९५ घरधुरी अझै सुरक्षित खानेपानी पहुँच बाहिर रहेको पाइएको छ ।
दुल्लु खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा, एभरेष्ट क्लबको सहजीकरण तथा हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न सम्मेलनमा खानेपानी योजनाको निर्माणभन्दा पनि त्यसको दिगोपना, नियमित मर्मतसम्भार र प्रभावकारी व्यवस्थापनमा जोड दिइएको छ ।
नगरपालिकाभित्र करिब एक सय वटा खानेपानी आयोजना सञ्चालनमा रहे पनि २६ वटा मुहान मात्र दर्ता भएका छन्। मुहान दर्ता नहुनु, नियमित मर्मतसम्भारको अभाव तथा उपभोक्ता समितिको कमजोर सक्रियताका कारण विगतमा निर्माण भएका कतिपय आयोजना अलपत्र परेको बताइएको छ । दुल्लु नगरपालिका–३ का डम्मर सुनारले विगतमा खानेपानी उपभोक्ता समिति गठन औपचारिकतामा मात्र सीमित हुँदा धेरै आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले योजना निर्माणसँगै सञ्चालन, नियमित मर्मतसम्भार र आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सम्मेलनमा दुल्लु नगरपालिका–१३ का जयबहादुर शाहीले खानेपानी व्यवस्थापन बोर्डको काम प्रभावकारी हुन नसकेको गुनासो गर्दै वडाबाट बोर्डमा पठाइएका समस्यासम्बन्धी पत्रको एक वर्षसम्म पनि सुनुवाइ नभएको भन्दै कार्यसम्पादन सुधार गर्न आग्रह गर्नुभयो । दुल्लु नगरपालिका–१ का उपेन्द्र खड्काले लिफ्ट खानेपानी आयोजनाबाट वडा नम्बर १ का केही बस्ती छुटेकाले त्यसको कारण स्पष्ट पार्दै सबै नागरिकलाई खानेपानी सेवाको पहुँचमा ल्याउन माग गर्नुभयो ।
दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले खानेपानीका मुहान हालसम्म दर्ता नहुनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले सबै मुहानलाई कानुनी प्रक्रियामा ल्याउन आवश्यक रहेको उल्लेख गर्दै दुल्लुमा २०३६ सालदेखि खानेपानीका लागि पाइप विस्तारको काम सुरु भएको स्मरण गर्नुभयो । प्रत्येक वर्ष नयाँ खानेपानी योजना माग्ने प्रवृत्तिले मात्र समस्या समाधान नहुने भन्दै उहाँले दीर्घकालीन व्यवस्थापनका लागि दुल्लु खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको बताउनुभयो ।
नगर प्रमुख रिजालले विगतमा निर्माण भएका धेरै खानेपानी आयोजना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको उल्लेख गर्दै नगरपालिकाले बोर्डमार्फत पुराना योजनाको मर्मतसम्भार सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो मर्मतसम्भार कोषको प्रभावकारी परिचालन गर्न सके मात्रै आयोजना दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिनेछ । दुल्लु नगरपालिकामा अधिकांश आयोजना लिफ्ट खानेपानी प्रणालीमा आधारित भएकाले विद्युत्, सञ्चालन खर्च र प्राविधिक समस्याका कारण थप चुनौती रहेको नगर प्रमुख रिजालले बताउनुभयो ।
दुल्लु नगरपालिका–१२ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सभापति लिलाराम लम्सालले पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले निर्माण भएर अलपत्र परेका खानेपानी योजनाको नियमित अनुगमन गरी पुनः सञ्चालनमा ल्याउन खानेपानी व्यवस्थापन बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । दुल्लु खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भागवत हमालले बोर्डले नगरका प्रत्येक वडामा पुगेर खानेपानी योजनाको अवस्था अनुगमन गर्ने र सञ्चालनमा आउन नसकेका योजनालाई पुनः सञ्चालनमा ल्याउन पहल गरिरहेको बताउनुभयो । उहाँले वर्षायाममा मुहानमा लेदो, फोहोर र पहिरोका कारण पानीको गुणस्तर प्रभावित हुने भएकाले कतिपय मुहान दैनिक सफा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । मुहानलाई नियमित रूपमा सफा राख्न सके मात्र उपभोक्ताले सुरक्षित खानेपानी प्राप्त गर्नुसक्नुहुन्छ ।
सम्मेलनले निर्माण भएर अलपत्र परेका खानेपानी योजनाको पुनः सञ्चालन, सबै खानेपानी मुहानको दर्ता, नियमित अनुगमन, मर्मतसम्भार कोषको प्रभावकारी परिचालन, मुहान संरक्षण तथा समुदायको सक्रिय सहभागितामार्फत खानेपानी योजनाको दिगोपना सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै नेपाल सरकारले सन २०३० सम्म प्रत्येक घरमा शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेको भएपनि दुल्लु नगरपालिकाले त्यो लक्ष्यलाई भेट्न प्रयास गर्नु पर्ने तर्फ ध्यान दिनु पर्ने सहभागीको जोड थियो । २०६१ सालदेखी खानेपानीको पहुँचका लागी खानेपानीका योजना संचालन गरेपनि हाल सम्म चार हजार ७६०को घरमा पहुँच पुगेको छ । सम्मेलनमा योजनाको निरन्तरता दिने खानेपानी समितिलाई पुरस्कृत समेत गरिएको थियो ।

