प्रेस काउन्सिलमा श्रेष्ठमा नियुक्त

काठमाडौँ : प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।
नियुक्तपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा। तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।
सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्नसक्ने विश्वासका आधारमा अध्यक्ष पदमा छनोट गरेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा। तिमिल्सिनाले नियामक निकायका प्रमुखका हैसियतले उल्लेखनीय भूमिका निर्वाह गरी सूचना र सञ्चारका क्षेत्रमा उदाहरणीय काम गर्न निर्देशन दिनुभयो । उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।


