Loading... आजः शुक्रबार, असार २६, २०८३
Trending

गाउँकै थालीमा भेटिन्छ “ पोषण ”


कमल शर्मा
दैलेख  :  हरियो सिस्नो, कोदो, जौ, मकै, सिमीका कोसा, केराउ, मासको दाल, आलु, कर्कलो, केरा, आँप, अण्डा, साग र लसुनले सजिएको पोषण थाली अगाडि बालबालिकाको भीड लागेको थियो । कसैले थालीमा भएका परिकार गन्दै थिए, कसैले शिक्षकसँग जिज्ञासा राख्दै थिए– “सर, सिस्नो पनि पोषण हो ?” उनीहरूको त्यो उत्सुकता गाउँघरमै पाइने खाद्यवस्तुप्रतिको नयाँ बुझाइको संकेत थियो ।

महाबु गाउँपालिका–४ लाई बुधबार ‘सबैका लागि पोषण, सधैंका लागि पोषण’ भन्ने मूल नारासहित पोषणमैत्री वडा घोषणा गरियो । पोषणमैत्री वडा घोषणा समारोहसँगै स्थानीय उत्पादनबाट तयार पारिएको पोषण थाली प्रदर्शनीले सबैको ध्यान खिच्यो । गाउँमै उत्पादन हुने अन्न, दलहन, तरकारी, फलफूल र पशुजन्य खाद्यवस्तुबाट सजाइएको थालीले स्वस्थ जीवनका लागि आवश्यक पोषण आफ्नै खेतबारीमा रहेको सन्देश दिएको थियो ।
नेपाल सरकारको दिगो विकास लक्ष्य–२०३० अन्तर्गत सञ्चालन गरिएको पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन अभियान र बहुक्षेत्रीय पोषण योजना (तेस्रो) का ४९ वटा सूचक पूरा गरेपछि महाबु गाउँपालिका–४ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले पोषणमैत्री वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पोषणमा गरिएको लगानीले स्वस्थ, सक्षम र उत्पादनशील समाज निर्माण गर्ने आधार तयार गर्ने बताउनुभयो ।

उहाँले पोषण स्वास्थ्य क्षेत्रको मात्र विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाइ र सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै स्थानीय सरकारको सक्रियताबिना दिगो विकास लक्ष्य हासिल गर्न नसकिने धारणा राख्नुभयो। “स्थानीय स्रोत र उत्पादनको उपयोग बढाएर पोषण सुधार गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “गाउँघरमा पाइने परम्परागत खाद्यवस्तु नै पोषणको सबैभन्दा ठूलो आधार हुन् ।”
समारोहमा स्थानीय महिलाले सिस्नो, कोदो, जौ, मकै, गहुँ, सिमी, केराउ, मासको दाल, आलु, कर्कलो, साग, लसुन, केरा, आँप र अण्डालगायतका खाद्यवस्तुबाट सन्तुलित पोषण थाली तयार पारेका थिए। बालबालिकाले चासोपूर्वक ती परिकार अवलोकन गर्दै स्थानीय उत्पादनको पोषण महत्वबारे जानकारी लिएका थिए। स्थानीय मनकला गुरुङले पहिले आफ्नै गाउँमा उत्पादन हुने खाद्यवस्तुको पोषण महत्वबारे आफूहरू अनभिज्ञ रहेको बताउनुभयो । “हामीले सिस्नो, कोदो, जौ र सिमीलाई सामान्य खाना मात्रै ठान्थ्यौँ । अहिले यिनै खानेकुराले शरीरलाई चाहिने धेरै पोषण दिने रहेछन् भन्ने बुझ्न पाएका छौँ,” उहाँले भन्नुभयो ।

कल्पना पाण्डेका अनुसार कुपोषण अन्त्य गर्ने सबैभन्दा प्रभावकारी उपाय स्थानीय उत्पादनको सही उपयोग र सन्तुलित खानपान हो। “हाम्रो गाउँमा पाइने खाद्यवस्तु नै पर्याप्त पोषिलो छन्। आवश्यक ज्ञान र सही अभ्यासले मात्रै पोषणमा ठूलो सुधार ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो।
महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले पोषणमैत्री वडा घोषणा गाउँपालिकाको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यो अभियान घोषणामै सीमित नरहने बताउनुभयो । उहाँले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी र ज्येष्ठ नागरिकको पोषण अवस्था सुधारलाई प्राथमिकतामा राखेर गाउँपालिकाका सबै वडामा पोषणमैत्री अभियान विस्तार गरिने जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले पोषणमैत्री वडा घोषणा स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, किसान र समुदायको साझा प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले प्राप्त उपलब्धिलाई दिगो बनाउन स्थानीय उत्पादनको प्रवद्र्धन, पोषण शिक्षा र जनचेतना अभिवृद्धिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

महाबु–४ मा देखिएको पोषण थाली केवल प्रदर्शनीको सामग्री थिएन । त्यो गाउँका खेतबारी, किसानको पसिना र पुस्तौँदेखि उत्पादन हुँदै आएका स्थानीय खाद्यवस्तुको सम्मान पनि हो सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले भन्नुभयो बजारका महँगा खानेकुराभन्दा आफ्नै बारीमा फल्ने अन्न, तरकारी, फलफूल र दलहनले नै स्वस्थ जीवनको आधार तयार गर्न सक्छन् भन्ने सन्देश यो अभियानले गाउँलेदेखि बालबालिकासम्म पु¥याएको छ । महावु गाउँपालिका २ नः वडाखोला पहिलो र ४ लाई दोस्रो पोषणमैत्री वडा घोषणा गरिएको छ । दुबै दैलेख जिल्लाका पहिलो र दोस्रो वडा घोषणा गरिएको छ ।