दुर्घटना न्यूनीकरणका लागि लापसे–मापसे परीक्षण अभियान सुरु


दैलेख : सवारी दुर्घटना न्यूनीकरण गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले दैलेखमा लापसे (लागूपदार्थ सेवन) तथा मापसे (मद्यपान)परीक्षण अभियान सुरु गरिएको छ। डुङ्गेश्वर गाउँपालिका–१ चुप्राबाट बिहीबार सुरु गरिएको अभियान अब जिल्लाका विभिन्न स्थानमा आकस्मिक रूपमा निरन्तर सञ्चालन गरिने भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको सहयोग, जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय, स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा अभियानको शुभारम्भ गरिएको हो।
अभियानको सुभारम्भ गर्दै डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले सुर्खेत–दैलेख सडकखण्डमा हुने दुर्घटना न्यूनीकरणका लागि स्थानीय तहले प्रहरीसँग सहकार्य गर्दै अभियान सञ्चालन गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले सडक दुर्घटना न्यनुीकरणकाका लागी सडकको स्तरउन्नती समेत जरुरी भएको बताउनुभयो । उहाँले सवारी चलाउने सवारी चालकले समेत जिम्मेवारीबोधका साथ सवारी चलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले मदिरा वा लागूपदार्थ सेवन गरी सवारी चलाउने कार्य दुर्घटनाको प्रमुख कारणमध्ये एक भएकाले त्यस्ता चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने बताउनुभयो । उहाँले सरकारले पछिल्लो समय प्रस्ताव गरेको सजायको कुरा गर्दै सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवण विकले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउनेप्रति प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै उनले सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्माले सडक सुरक्षा अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । ट्राफिक सचेतना र जिम्मेवार सवारी सञ्चालनसम्बन्धी सन्देश जनस्तरसम्म पुर्याउन सञ्चार क्षेत्रले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो दुर्घटनामा ज्यान गुमाउने ब्यक्ति एउटा भएपनि परिवारको आशा र भरोसानै गुमाउने जोखिम रहेको भन्दै लापसे र मापसे गरेर साधन चलाउनु हुदैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक जयसिंह गुरुले चालक तथा सहचालकको लापसे–मापसे परीक्षण अब जिल्लाका विभिन्न स्थानमा आकस्मिक रूपमा निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । मदिरा वा लागूपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले निगरानी थप कडा पारिएको उनले बताउनुभयो ।

