बडाखोला पोषणमैत्री वडा घोषणा


दैलेख : दैलेखको महावु गाउँपालिका–२ वडाखोलालाई पोषणमैत्री वडाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको पोषणमैत्री स्थानीय शासनसम्बन्धी पाँच वटा विषयगत शाखा अन्तर्गतका ४७ वटा सूचक पूरा गरेपछि आइतवार वडालाई पोषणमैत्री घोषणा गरिएको हो । पोषण, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, कृषि र स्थानीय शासनसँग सम्बन्धित सूचक पूरा भएपछि औपचारिक घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
घोषणा कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार बिसीले पोषणमैत्री वडा घोषणा स्थानीय सरकारको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले नेपाल सरकारले तोकेका मापदण्ड पुरा गर्दै पोषणमैत्री वडा घोषणा गर्न सफल भएको बताउँदै अन्य वडालाई पनि पोषणमैत्री वडा घोषणा गर्नु पर्ने बताउनुभयो ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले पोषणमैत्री वडा घोषणा केवल प्रमाणपत्र प्राप्त गर्ने विषय नभई नागरिकको स्वास्थ्य, पोषण र जीवनस्तर सुधारसँग जोडिएको अभियान भएको बताउनुभयो । उहाँले सबै सरोकारवाला निकायको समन्वय र निरन्तर प्रयासबाट मात्रै अभियान प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो दैलेख जिल्लाका धेरै आमा तथा बच्चामा कुपोषण देखिएको बताउँदै त्यसलाई सुधार गर्न स्थानीय तहले प्रभावकारी काम गर्नुपर्ने हुन्छ ।
महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले पोषणमैत्री वडा घोषणा गर्न वडा कार्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायले गरेको भुमिकाको प्रशंसाा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाले भन्नुभयो आगामी दिनमा गाउँपालिकाका अन्य वडालाई पनि पोषणमैत्री बनाउने लक्ष्यका साथ आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
महावु गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रकाश थापाले लामो समयदेखि योजनाबद्ध रूपमा सञ्चालन गरिएका पोषण, स्वास्थ्य र सरसफाइसम्बन्धी कार्यक्रमको परिणामस्वरूप वडा पोषणमैत्री घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशकै तेस्रो पोषणमैत्री वडा घोषणा गर्न सफल भएको बताउनुभयो । कर्णाली प्रदेशका ७९ वठा स्थानीय तह मध्ये सल्यानको एक वडा जुम्लाको एक वडा यस अघिनै पोषणमैत्री वडा घोषण भएका छन । पोषणमैत्री वडामा पोषण कोशेली पोषण थाली समेत प्रर्दशन गरिएको थियो ।

