दैलेख पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा


दैलेख : दैलेखलाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता ,निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
जिल्लाका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै प्रकारका खोप प्राप्त गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो । उहाँले जिल्लामा रहेका १५ महिनाभित्रका ३ हजार २सय३४ बालबालिकाले नियमित बालबालिकाले पूर्णखोप लगाएको बताउनुभयो ।स्वास्थ्य सेवा कार्यालयका अनुसार खोपबाट छुटेका बालबालिकाको खोजीका लागि ४हजार४ सय ७४ घरधुरीमा लाइन लिस्टिङ गरिएको थियो । जिल्लामा १६–२३ महिनाका ३,५३१ र १६–५९ महिनाका १६ हजार ५२४ बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ। सर्वेक्षणका क्रममा ३ जना शून्य डोज र ८० जना आंशिक खोप लगाएका बालबालिकालाई समेत पूर्ण खोपको पहुँचमा ल्याइएको थियो।
कर्णाली प्रदेशका सामाजिक विकास सचिब रोशनी कुमारी श्रेष्ठले खोप लगाउने महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधार हुने प्रमुख कदम खोप कार्यक्रम भएको हुँदा आगामी दिनमा खोपको दिगोपनालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दैलेख जिल्लाको अस्पतालको संस्था स्तरोन्नति गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य विमालाई कार्यक्रमलाई अगाडि बढाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

