बहुक्षेत्रिय पोषणमा करोडौं लगानी, कुपोषणको चुनौती कायमै


कमल शर्मा
दैलेख : गर्भवती महिलादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषण सुधारका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागी करोडौँ लगानी गरेपनि मातृ तथा बाल कुपोषण अझै चुनौतीकै रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । पाँच स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा २७ प्रतिशत गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएका छन् भने जिल्लाका ११ स्थानीय तहमा पाँच वर्षमुनिका ९९५ बालबालिका कुपोषणबाट प्रभावित रहेकाको तथ्याङक सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समितिले मङ्गलबार सदरमुकाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङक अनुसार जिल्लामा कुपोषणको अबस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ । समीक्षामा प्रस्तुत विवरणअनुसार पाँच स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा एक हजार ४४६ गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिलाको पोषण अवस्था परीक्षण गरिएको थियो। तीमध्ये एक हजार ६१ जना को पोषण अवस्था सामान्य रहेको भने ३१८ जना मध्यम शीघ्र कुपोषण र ६७ जना कडा शीघ्र कुपोषण मा भेटिएका छन् । यसरी ३८५ जना अर्थात् २७ प्रतिशत महिला कुपोषित रहेको तथ्याङ्कले देखाएको छ । विवरणअनुसार ठाँटीकाँध गाउँपालिकामा सबैभन्दा बढी ३५ प्रतिशत महिला कुपोषित भेटिएका छन्। भगवतीमाई गाउँपालिकामा ३२ प्रतिशत, आठबिस नगरपालिकामा ३१ प्रतिशत, डुङ्गेश्वर गाउँपालिकामा १७ प्रतिशत र गुराँस गाउँपालिकामा १५ प्रतिशत महिला कुपोषित रहेको तथ्याङ्कले देखाएको छ ।
मातृ पोषणसँगै पाँच वर्षमुनिका बालबालिकाको अवस्था पनि सन्तोषजनक देखिएको छैन । पोषण लेखाजोखा अभियान–२०८३ अनुसार जिल्लाका २० हजार ४५८ पाँच वर्षमुनिका बालबालिकामध्ये १२ हजार ३९५ जनाको पोषण परीक्षण गर्दा ११ हजार १२२ जनाको पोषण अवस्था सामान्य रहे पनि ८१४ जना मध्यम र १८१ जना कडा कुपोषण मा भेटिएका छन ्। जिल्लाभर ९९५ जना बालबालिका कुपोषणबाट प्रभावित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । नारायण नगरपालिका, आठबिस नगरपालिका, भैरवी गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा कुपोषित बालबालिकाको संख्या तुलनात्मक रूपमा बढी रहेको समीक्षा कार्यक्रममा उल्लेख गरिएको थियो ।
दुल्लु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुशिल शाहीले तीनै तहका सरकारले बहुक्षेत्रिय पोषणका क्षेत्रमा काम गरेको भएपनि वितरण मुखी कार्यक्रम गरेका कारण कुपोषणको अबस्थामा सुधार आउँन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो गर्भवती महिलाले पर्याप्त पोषिलो आहार नपाउँदा कम तौलका शिशु जन्मिने, बालबालिकाको वृद्धि–विकासमा असर पर्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने जोखिम बढ्छ । गरिबी, खाद्य असुरक्षा, किशोरावस्थामै विवाह ,पर्याप्त पोषिलो आहारको अभाव र पोषणसम्बन्धी व्यवहार परिवर्तन अपेक्षाअनुसार हुन नसक्नु कुपोषणका प्रमुख कारणका रूपमा रहेको शाहीको भनाइछ ।
समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले पोषण क्षेत्रमा भएको लगानीले समुदायमा चेतना अभिवृद्धि, नियमित पोषण परीक्षण र कुपोषित आमा तथा बालबालिकाको पहिचानमा सकारात्मक योगदान दिन नसकेको बताउनुभयो । उहाँले सार्वजनिक गरिएको तथ्याङ्कले कुपोषण न्यूनीकरणका लागि कार्यक्रमलाई अझ परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखाएको बताउँदै त्यस तर्फ स्थानीय सरकारले प्रमुख प्रथामिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो स्थानीय उत्पादनमा आधारित पोषिलो खाद्य प्रवद्र्धन, नियमित अनुगमन तथा परिवारस्तरमा व्यवहार परिवर्तनका कार्यक्रम प्रभावकारी बनाएको खण्डमा मातृ तथा बाल कुपोषण घटाउने लक्ष्य हासिल गर्न सकिने बतानुभयो ।
एभरेष्ट क्लव दैलेखका पोषण व्यवहार परिवर्तन तथा सामाजिक समावेशीकरण अधिकृत राम बहादुर बिकले पाँच स्थानीय तहमा सञ्चालन गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि चार करोड ३८ लाख ८१ हजार ६६१ रुपियाँ भन्दा बढी बजेट एरभेष्ट क्लव बाट खर्च गरिएको जानकारी दिनुभयो । उहाँले परियोजनाले पोषणसम्बन्धी व्यवहार परिवर्तन, गर्भवती तथा सुत्केरी महिलाको नियमित पोषण परीक्षण, पोषण परामर्श, घरभेट सेवा, पोषणमैत्री कृषि, खाद्य विविधीकरण, खानेपानी तथा सरसफाइ सुधारलगायतका गतिविधि सञ्चालन गरिएको बताउनुभयो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर मनोज विश्वकर्माले कुपोषणका कारण उपचार गर्न आउँने बिरामी राख्न समेत ठाउँ अभावले समस्या भएको बताउनुभयो । समिक्षा कार्यक्रममा सात वटा क्षेत्रमा बजेट बिनियोजन हुने ती कार्यक्रम वितरण मुखी भएको बताउँदै आगामी दिनमा व्यवहार परिर्वतनका कार्यक्रम संचालन गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

