पञ्चेबाजा सीप विकास तालिम सम्पन्न


दैलेख : सिकौं, आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ नारायण नगरपालिका–६ मा पञ्चेबाजा वाद्यवादन सीप विकास तालिम सञ्चालन गरिएको छ। नारायण नगरपालिकाको समन्वय तथा सहकार्यमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले तालिम आयोजना गरेको हो। सिप विकास तालीम समापनमा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले दलित लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिमले लोपोन्मुख पञ्चेबाजा संरक्षणका साथै महिला तथा दलित समुदायको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नारायण नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापाले पछिल्लो समय पञ्चेबाजा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। महिलाले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा बाजा बजाएर आम्दानी गर्न सक्ने उहाँको भनाइ थियो।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख शंकरबहादुर थापाले सहभागीहरूको मागका आधारमा तालिम सञ्चालन गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले तालिम प्रभावकारी भए आगामी दिनमा नगरपालिकासँगको सहकार्यमा थप सीपमूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
तालिममा सहभागीहरूले पञ्चेबाजा वादनसम्बन्धी थप सीप सिक्ने इच्छा व्यक्त गर्दै आगामी वर्ष पनि यस्ता सीप विकासका कार्यक्रम सञ्चालन गरी आफूहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

