Loading... आजः सोमवार, असार १५, २०८३
Trending

हुम्लामा बढे भारतीय पर्यटक


हुम्ला : भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू यतिबेला भरिभराउ भएका छन्। सिमकोट–हिल्सा हुँदै मानसरोवर–कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या बढेपछि होटल व्यवसायमा उल्लेख्य चहलपहल देखिएको हो।

होटल पोतलाका सञ्चालक मिनबहादुर तामाङका अनुसार गत वैशाख ३० गतेयता करिब ८०० भारतीय धार्मिक पर्यटकलाई सेवा प्रदान गरिएको छ। उहाँले सिमकोट र हिल्साका अधिकांश होटल यतिबेला भरिभराउ रहेको बताउनुभयो।

उहाँका अनुसार अन्य समयमा सुनसान रहने सिमकोटका अधिकांश होटलमा यस सिजनमा चहलपहल बढेको छ। एक जना पर्यटकले सिमकोटमा एक रात बस्दा खाना, खाजा र आवाससहित औसत तीन हजार पाँच सय रुपैयाँ खर्च गर्ने गरेको उहाँले जानकारी दिनुभयो।

होटल विजय, सनलाइट, कर्णाली रिसोर्ट, कैलाश, मानसरोवर, हुम्ला रिसोर्ट, पोतला, एलिस तथा तिब्बतीयनलगायतका होटलमा पर्यटकको चाप बढेको छ। सिमकोटजस्तै हिल्साका पाँचवटा होटल पनि पर्यटकले भरिभराउ हुने गरेका छन्।

पर्यटक आगमन बढेसँगै होटल व्यवसायी मात्र होइन, विमानस्थलदेखि होटलसम्म पर्यटकको सामान बोक्ने भरियाले पनि राम्रो आम्दानी गर्न थालेका छन्। सिमकोट गाउँपालिकाका तर्फबाट विमानस्थलमा सरसफाइ शुल्क संकलनको जिम्मेवारी पाउनुभएका दिपेन्द्र भण्डारीका अनुसार ३० भन्दा बढी भरियाले नियमित रोजगारी पाएका छन्।