कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता


दैलेख : कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप–२०८३’ आज देखि दैलेखको दुल्लुमा सुरु हुँदैछ। कर्णाली प्रदेशका १० जिल्लाका टोलीहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक आकर्षक पुरस्कार राशी राखिएको छ।
आयोजक कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। कर्णाली प्रदेशमा आयोजना हुने भलिबल प्रतियोगितामध्ये यो उच्च पुरस्कार राशी भएको प्रतियोगितामध्ये एक रहेको अध्यक्ष श्रेष्ठले बताए।
प्रतियोगितामा सहभागी प्रत्येक जिल्लाबाट १० जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक सहभागी हुनेछन्। प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, कर्णाली प्रदेश भलिबल संघको आयोजना तथा नगर खेलकुद विकास समिति, दुल्लु नगरपालिकाको सह–आयोजनामा सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा भलिबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, जिल्लाबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण तथा प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

