उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय पुरस्कृत


कमल शर्मा
दैलेख : नौमुले गाउँपालिका बाट माध्यामिक शिक्षा परिक्षा(एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी,विषगत शिक्षक र विद्यालयलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय उत्कृष्ट विद्यार्थीअन्तर्गत भैरव माध्यमिक विद्यालय नौमुले–१ का संजय चन्दले ३.८२ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गर्दै ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौमुले–७ पैतीका वीरेन्द्र बस्नेतले ३.११ जीपीए प्राप्त गरी द्वितीय स्थान हासिल गर्दै ३० हजार रुपियाँ र भैरव माध्यमिक विद्यालयकी बिनिता रोकायले ३.०८ जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गर्दै १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । सान्त्वना पुरस्कारतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पैतीका भरत बस्नेत, भैरव माध्यमिक विद्यालयकी डिलकुमारी कार्की र शिवशक्ति माध्यमिक विद्यालयकी सृष्टि बुढाले जनही तीन हजार रुपियाँँ प्राप्त गरेका छन् । यस्तै, दलिततर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पैतीकी मनिसरा विक र जनजातितर्फ पैतीकै बिनिता थापाले क्रमशः तीन÷तीन हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । मनिसराले २.९९ र बिनिता थापाले २.९५ जीपीए प्राप्त गर्नुभएको थियो ।
एसइई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गराउने अंग्रेजी, बिज्ञान र गणित शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । लालीगुराँस माध्यमिक विद्यालयका अंग्रेजी विषयका शिक्षिका गीता कुमारी चन्द, भैरव माध्यमिक विद्यालयका गणित शिक्षक नगेन्द्रबहादुर सिंह तथा विज्ञान शिक्षक प्रदीप खड्कालाई जनही सात हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूलाई पनि पुरस्कार वितरण गरिएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नौमुले–७ पैती प्रथम हुँदै २० हजार रुपियाँ, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय आलेगाउँ द्वितीय हुँदै १५ हजार रुपियाँ तथा भैरव माध्यमिक विद्यालय तृतीय हुँदै १० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले सबैको सहयोगमा एसइइ परीक्षामा बिगतको भन्दा राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभयो । उहाँले पुरस्कार गरेका कारण विद्यार्थी, शिक्षक तथा विद्यालयबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिका अध्यक्षले पाउँने पारिश्रमिक बाट आफुले समेत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय र विषयत शिक्षकलाई पुरस्कार वितरण गरेका छौँ । गाउँपालिका शिक्षा शाखाले दिएको विवरणका आधारमा दुई लाख २० हजार रुपिँया पुरस्कार बापत वितरण गरिएको बताउनुभयो ।
“फाउन्डेसन र आफुले पाउँने पारिश्रमिकले राम्रो नतिजा ल्याउने विद्यार्थी शिक्षक र विद्यालयलाई पुरस्कारको घोषणा गरेका कारण पनि यस वर्ष नौमुले गाउँपालिकाले एसइई परीक्षामा राम्रो नतिजा हासिल गर्न सफल भएको छ,” अध्यक्ष सुबेदीले भन्नुभयो।

