Loading... आजः बुधबार, जेष्ठ २०, २०८३
Trending

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँने सहमती

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशभरिबाट उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर तथा अन्य स्वास्थ्य संस्थामा आउने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने भएको छ । आर्थिक वर्ष २०८२र८३ को नीति, कार्यक्रम तथा बजेटअन्तर्गत वीरेन्द्रनगर नगरपालिका र जिल्ला रेडक्रस शाखा सुर्खेतबीच यस सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंकमार्फत बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइनेछ । कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने सहमति भएको जनाइएको छ । सम्झौतापत्रमा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल र जिल्ला रेडक्रस शाखा सुर्खेतका सभापति रामलाल आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा नगर प्रमुख ढकालले निःशुल्क रगत उपलब्ध गराउने व्यवस्थाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, प्रदेश अस्पतालका प्रमुख डा गणेश थापाले नगरपालिकाको यो पहलले उपचारका क्रममा रगत अभावको समस्या न्यूनीकरण गर्न मद्दत पुग्ने बताउँदै बिरामी र उनका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ल्याएको यो कार्यक्रमबाट प्रदेश अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने हजारौँ बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ । जिल्ला रेडक्रस शाखा सुर्खेतले सञ्चालन गर्दै आएको ब्लड बैंकमार्फत सेवा प्रवाह हुने भएकाले आवश्यक पर्दा बिरामीले सहज रूपमा रगत प्राप्त गर्न सक्नेछन् ।