Loading... आजः शनिबार, जेष्ठ १६, २०८३
Trending

खस सभ्यताको मौन साक्षी “पञ्चदेवल”


कमल शर्मा
दैलेख  :   दैलेख सदरमुकामबाट करिब दश मिनेटको सवारी यात्रा र केही मिनेटको पैदल दूरी पार गरेपछि नारायण नगरपालिका–६ भुर्ती पुगिन्छ । गाउँको बीचभागमा शान्त वातावरणमा उभिएका ढुङ्गाका पुराना देवलहरू हेर्दा जो कोहीलाई लाग्छ, यहाँ इतिहास अझै सास फेरिरहेको छ । यहीँ अवस्थित छन् दैलेखका प्रसिद्ध पञ्चदेवल अर्थात् बाइस देवल — खस सभ्यताको मौन साक्षी बनेका अमूल्य सम्पदा ।
चौधौँ र पन्ध्रौँ शताब्दीमा कर्णाली प्रदेशमा शासन गरेको खस मल्ल राज्यकालमा निर्माण गरिएका यी देवलहरू तत्कालीन सभ्यता, कला र संस्कृतिका महत्त्वपूर्ण प्रमाण मानिन्छन् । इतिहासकारहरूका अनुसार दैलेख, जुम्ला र समग्र कर्णाली क्षेत्र तत्कालीन खस राज्यको राजनीतिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित थियो । पञ्चदेवल त्यसै सभ्यताको इतिहास बोकेर आज पनि मौन रूपमा उभिएको छ । विगतमा यहाँ २५ वटा देवल रहेको बताइन्छ । तर संरक्षण अभाव, प्राकृतिक क्षति र समयको प्रभावका कारण हाल २२ वटा मात्र बाँकी छन् । कतिपय देवलका ढुङ्गाहरू खिइसकेका छन् भने केही संरचना कमजोर बन्दै गएका छन् । संरक्षणमा ढिलाइ भए बाँकी सम्पदासमेत जोखिममा पर्ने स्थानीय वासीहरूको चिन्ता छ । नारायण नगरपालिका–६ भुर्तीमा रहेको बाइस देवललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले सन् २००८ जनवरी ३० देखि ‘क’ वर्गमा राखिएको छ ।
ऐतिहासिक पञ्चदेवललाई विश्व सम्पदा सूचीमा समावेश गराउने उद्देश्यले पुरातत्व विभागले सक्रियता बढाएको छ । बुधवार पुरातत्त्व विभागको टोलीले दैलेख पुगेर ऐतिहासिक सम्पदाको संरक्षण सम्बन्धी स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुका साथै पञ्चदेवल क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
पञ्चदेवलको अवलोकनपछि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले देवलहरूको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, दीर्घकालीन व्यवस्थापन तथा विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक प्रक्रिया सम्बन्धमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्नुभयो । उहाँले पुरातात्विक सम्पदाको संरक्षणका लागि तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउँदै पुराना सम्पदाको पुनर्निर्माण पुरानै शैलीमा गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले सन् २००८ देखि ‘क’ वर्गमा राखिए पनि पञ्चदेवल अझै विश्व सम्पदा सूचीमा समावेश हुन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पहललाई तीव्रता दिइने बताउनुभयो ।
पुरातत्व विभागको टोलीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नगरपालिकाका ११ वटै वडामा रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरूको निरीक्षण गरी संरक्षणका लागि आवश्यक नीति निर्माण तथा पुनर्निर्माण योजनामा सहयोग गर्न पुरातत्त्व विभागसँग अनुरोध गर्नुभयो । उहाँले धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले काठमाडौँ र लुम्बिनीपछि दैलेखको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै यहाँ रहेका सम्पदाहरूको संरक्षणमा स्थानीय सरकारले पहल गरिरहेको भए पनि पर्याप्त बजेट अभावका कारण अपेक्षाअनुसार काम गर्न नसकिएको बताउनुभयो । “सम्पदा संरक्षणका लागि बजेट माग गरे पनि काम गर्ने क्रममा पुरातत्व विभागबाट स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा समस्या हुने गरेको छ,” नगर प्रमुख शर्माले भन्नुभयो । उहाँका अनुसार दैलेखमा रहेको ऐतिहासिक कोतगढी संरक्षणको काम भइरहे पनि पुरानै शैलीमा संरचना निर्माण हुन नसक्दा ५० वर्षपछि फर्काइएको सुन्दरी तोप खुला आकाशमै राख्नुपरेको छ ।
पुरातत्व विभागका सम्पदा अधिकृत देवेन्द्र भट्टराईले सम्पदा संरक्षण, संवद्र्धन तथा व्यवस्थापनका विविध पक्ष, पुरातत्त्व विभाग र स्थानीय तहको भूमिका तथा कानुनी व्यवस्थाबारे अभिमुखीकरण गर्नुभएको थियो । विभागले पञ्चदेवल क्षेत्रलाई राष्ट्रिय रूपमा संरक्षित सम्पदाको सूचीमा थप प्रभावकारी रूपमा व्यवस्थापन गर्दै भविष्यमा यूनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक अध्ययन, दस्तावेजीकरण तथा संरक्षणका काम अगाडि बढाइने जनाएको छ । स्थानीय समुदायका लागि पञ्चदेवल केवल पुराना संरचना मात्र होइनन्, आस्था र पहिचानका प्रतीक पनि हुन् । नारायण नगरपालिका–६ का यामनारायण उपाध्यायले पुराना पुस्ताले देवलसँग जोडिएका किंवदन्ती र इतिहास सुनाउँदै आए पनि त्यसको व्यवस्थित दस्तावेजीकरण हुन नसकेको बताउनुभयो । उहाँले पञ्चदेवल क्षेत्रमा घेरबारको काम भए पनि अझै खुला रूपमा पशु चौपाया प्रवेश गर्ने गरेको भन्दै संरक्षण व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले ढुङ्गामा कुँदिएका ती संरचनाहरू केवल देवल मात्र नभई कर्णालीको गौरव, खस सभ्यताको पहिचान र नेपाली इतिहासको महत्ववपूर्ण अध्याय भएको बताउनुभयो । “इतिहास हरायो भने केवल संरचना मात्र होइन, एउटा सभ्यताको स्मृति पनि हराउँछ,” उहाँले भन्नुभयो । समय परिवर्तनसँगै आधुनिक संरचनाहरू थपिँदै गए पनि पञ्चदेवलले भने अझै खस सभ्यताको प्रतिका रुपमा रहदै आएको छ ।