बस्तीस्तरबाट योजना संकलन गर्दै गाउँपालिका


दैलेख : आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाका लागि दैलेखको भगवतीमाई गाउँपालिकाले बस्तीस्तरबाट योजना संकलन अभियान सञ्चालन गरेको छ । नागरिकका वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा विकास योजना छनोट गर्ने उद्देश्यले गाउँपालिकाले सातवटै वडामा बस्तीस्तरीय भेला सञ्चालन गरेको गाँउपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख प्रेम बहादुर खड्काले सातवटै वडामा सञ्चालन भइरहेको बस्तीस्तरीय भेलाबाट आयोजना तथा कार्यक्रम सम्बन्धी माग संकलन गरी आयोजना बैंक निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले आयोजना बैंकको आधारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिने बताउनुभयो । उहाँले स्थानीय तहबाट कार्यान्वयन गर्न नसकिने ठूला आयोजनालाई आयोजना बैंकमा समावेश गरी प्राथमिकताका आधारमा संघीय सरकार, प्रदेश सरकार तथा साझेदार निकायसँग समन्वय गरेर अघि बढाइने बताउनुभयो ।
गाउँपालिकाको टोली विभिन्न बस्तीमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्दै सडक, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकाससँग सम्बन्धित आयोजना तथा कार्यक्रमका माग संकलन गरिरहेको छ । योजना अनुगमन तथा अनुगमन शाखा प्रमुख खड्काले भन्नुभयो वडास्तर बाट योजना छनोट हुने गरेको भएपनि वडाध्यक्षकै पहुँचमा योजना छनोट गर्ने समस्यालाई समधान गर्न यो अभियान महत्वपूण हुने बताउनुभयो । उहाँका अनुसार भेलामा सहभागी स्थानीयवासीहरूले दीर्घकालीन लाभ दिने योजनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि तथा पूर्वाधार विकाससँग जोडिएका योजनाले मात्र दिगो विकास संगै
पहुँचका आधारमा नभई वास्तविक आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनीहरूको जोड रहेको उहाँको भनाइछ ।
भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले बस्तीस्तरीय भेला नागरिक सहभागितामार्फत योजना छनोट गर्ने महत्वपूर्ण प्रक्रिया भएको बताउनुभयो । उहाँले जनताको आवश्यकता अनुसार दीर्घकालीन लाभ दिने तथा उत्पादन र रोजगारीसँग जोडिएका योजनालाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो । गाउँपालिकाले बस्तीस्तरबाट संकलित योजनालाई वडास्तर हुँदै गाउँसभामा पेश गर्ने तयारी गरेको जनाएको छ ।

