उपप्रधानदेखि वडाध्यक्षसम्म

कमल शर्मा
दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिका–६ का जोरासिंह रोकाय अहिले ६५ वर्ष पुग्नुभयो । उमेरसँगै शरीर कमजोर बन्दै गएको छ, कपाल सेताम्मे फुलेका छन् । तर गाउँ, जनताको दुःख–सुख र विकासको चिन्ता भने अझै उस्तै छ । उहाँको जीवन केवल एउटा राजनीतिक यात्राको कथा होइन, गाउँसँगै बितेको चार दशकभन्दा लामो संघर्ष, परिवर्तन र सेवाको कथा पनि हो । २०४३ सालमा तत्कालीन तोलीजैसी गाविसको उपप्रधान बनेर सार्वजनिक जीवन सुरु गर्नुभएका रोकायले त्यतिबेला गाउँको विकास अभावबीच अगाडि बढाएको सम्झनुहुन्छ । त्यो बेला गाउँ विकासका लागि पाँच हजार रुपैयाँ बजेट आउँथ्यो, उहाँले विगत सम्झँदै भन्नुभयो, त्यो पैसा खर्च गर्न पनि सजिलो थिएन । गाउँलेहरू श्रमदान गरेर बाटो बनाउँथे, विद्यालय बनाउँथे ।
त्यो समय गाउँमा सडक थिएन, सहज यातायात थिएन । विकास भनेको जनताको पसिना र श्रम थियो । अहिले जस्तो डोजर, बजेट र योजना थिएनन् । २०५२ साल पछि नेकपा माओबादीले थालेको शसस्त्र द्धन्द्धले दुःख दियो । गाउँका नागरिकको जनजीवनलाई गहिरो असर पारेको उहाँ सम्झनुहुन्छ । द्वन्द्वको बेला गाउँमा त्रास थियो, उहाँले भन्नुभयो, “मानिसहरू साँझ परेपछि डराउँथे । विकासका काम गर्न पनि सहज थिएन । झन पूर्व प्रधान उपप्रधानलाई सामान्ती भनेर प्रचार गरिन्थ्यो । मागेको अनुसार भन्दा वा अरु केही नदिए दुःख दिनेसमेत कामभयो । उहाँका अनुसार त्यतिबेला गाउँमा राजनीतिक विभाजन र असुरक्षाले सामाजिक सम्बन्धसमेत प्रभावित बनेका थिए । कतिपय विकासका काम रोकिए, सर्वसाधारण त्रासबीच बाँच्न बाध्य भए । समय संगै भएको परिवर्तनले अहिले वडामा ५० करोड रुपैयाँ भए पनि पुग्दैन, उहाँले वर्तमानसँग तुलना गर्दै भन्नुभयो, अहिले जनताको आवश्यकता धेरै छन् । सडक चाहियो, शिक्षा चाहियो, स्वास्थ्य चाहियो । समय धेरै फेरिएको छ ।
राजनीतिक यात्रामा उहाँले हार र जित दुवै भोग्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका रोकाय नेकपा एमालेका मनबहादुर सिजापतीसँग ३० मतले पराजित हुनुभयो ।
पराजयपछि हुँदा समेत जनताको सेवामा निरन्तर रहनुभएका उहाँको गाउँसँगको सम्बन्ध र जनताप्रतिको लगाव भने कमजोर भएन । २०७९ को स्थानीय तह निर्वाचनमा फेरि नेपाली काँग्रेसबाटै उम्मेदवार बन्नुभएका उहाँ ८० मतान्तरले विजयी हुनुभयो । उहाँले भन्नुभयो जनताले फेरि भरोसा गर्नुभयो,त्यही विश्वासले अझै काम गर्ने हिम्मत दिएको छ ।”
वडाध्यक्ष बनेपछि पनि आफूले पूर्व वडाध्यक्षसँग निरन्तर सहकार्य गर्दै आएको उहाँ बताउनुहुन्छ । “मैले त साइन मात्र गर्ने हो,” उहाँले हाँस्दै भन्नुभयो, “काममा पूर्व वडाध्यक्षको सहयोग निरन्तर लिएको छु । उहाँका अनुसार गाउँको विकास व्यक्तिगतभन्दा पनि साझा सहकार्यबाट सम्भव हुने भएकाले राजनीतिक आग्रहभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता छ । सामान्य लेखपढ गर्नुभएका रोकायका तीन छोरा र पाँच छोरी छन् । परिवारका सदस्य आ–आफ्नो जिम्मेवारीमा छन् ।
उहाँको नाति अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कमिटी सदस्य छन् । आफूले जीवनभर फरक राजनीतिक आस्थामा रहेर काम गरे पनि नातिको रोजाइलाई उहाँले सहज रूपमा लिनुभएको छ । नयाँ पुस्ताले आफ्नो सोचअनुसार राजनीति गर्छ,” उहाँले भन्नुभयो, “मैले लामो समय जनताको सेवा गरेँ, अब आउने दिनमा नातिले पनि जनताको सेवा गर्नेछ ।”
पछिल्लो समय नयाँ राजनीतिक शक्तिहरू उदाउनुको कारण पुराना दलहरूको कार्यशैलीसँग पनि जोडिएको उहाँको बुझाइ छ ।
पुराना दलहरूले समयअनुसार आफ्नो कार्यशैली सुधार गर्न सकेनन्, उहाँले भन्नुभयो, जनताका अपेक्षा धेरै थिए, तर व्यवहारमा परिवर्तन कम देखियो । त्यसैले नयाँ शक्तिहरू उदाएका हुन् । उहाँका अनुसार लोकतन्त्रमा नयाँ पुस्ता र नयाँ सोच राजनीतिमा आउनु स्वाभाविक प्रक्रिया हो । जनताको विश्वास जित्न राजनीतिक दलहरूले व्यवहारमै सुधार गर्नुपर्ने उहाँको भनाइ छ । राजनीतिसँगै उहाँको अर्को चिन्ता शिक्षा पनि रह्यो । वडाध्यक्ष रोकायले विभिन्न समयमा नौ वटा विद्यालयको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पहिले विद्यालय जोगाइराख्नै ठूलो कुरा थियो,उहाँले सम्झनुभयो, अहिले बिस्तारै चेतना बढेको छ । बालबालिका पढाउनुपर्छ भन्ने बुझाइ आएको छ ।
गाउँमा अहिले सडक पुगेका छन् । विद्यालय छन् । विकासका संरचना थपिएका छन् । तर जोरासिंह रोकायका आँखामा अझै पुरानै गाउँका संघर्ष, द्वन्द्व र परिवर्तनका दृश्य ताजै छन् । पञ्चायतदेखि गणतन्त्रसम्म व्यवस्था फेरियो । नेता फेरिए । राजनीति बदलियो । तर उहाँको जीवनको ठूलो हिस्सा भने गाउँकै सेवामा बित्यो । सायद त्यसैले अहिले पनि धेरै स्थानीय उहाँलाई केवल नेता होइन, गाउँको अभिभावकका रूपमा सम्झिन्छन् ।


