दुर्गम जिल्लासँगको पहुँच विस्तार गर्न स्थानीयतहको पहल


दैलेख : दैलेख र कालिकोट जिल्लाका स्थानीय तहहरूले कर्णालीका दुर्गम जिल्लासम्म सडक पहुँच विस्तार गर्ने उद्देश्यले अधुरो सडक ट्रयाक निर्माणलाई अघि बढाउन संयुक्त पहल थालेका छन् । सघिय सरकारले दुर्गम जिल्लाको सडक पहुँच विस्तारका लागी लुम्बिनी प्रदेशको जमुनाह–कोहलपुर हुँदै सुर्खेत, दैलेख, महावुलेक, कालिकोटको नाग्म हुँदै मुगु र हुम्लाको नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशीय सडक निर्माणका लागी आवश्यक बजेट बिनियोजन गर्न माग गरेका छन । दैलेखको महावुलेकसम्म सडक ट्रायक खुले पनि महावुदेखि नाग्मसम्मको खण्डको ट्रायक निर्माण नगरिएको भन्दै त्यसका लागी आवश्यक बजेट बिनियोजन गर्न माग गरेका हुन ।
दैलेखको नारायण नगरपालिका, नौमुले गाउँपालिका, महावु गाउँपालिका तथा कालिकोटका महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका बीच भएको अन्तरपालिका स्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको हो ।
स्थानीय तहहरूले उक्त सडक सञ्चालनमा आए कर्णालीका दुर्गम जिल्लासँगको पहुँच विस्तार हुनुका साथै व्यापार, पर्यटन, स्वास्थ्य सेवा तथा विकास निर्माणका गतिविधिमा सहजता पुग्ने बताएका छन् । बैठकमा दैलेख र कालिकोटको सिमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल महावुधामको विकास तथा प्रवद्र्धनका विषयमा समेत छलफल गरिएको थियो । भौगोलिक विकटतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने निर्णय गरिएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शमार्ल जानकारी दिनुभयो । उहाँले महावुधाम क्षेत्रको पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सहभागी स्थानीय तहको सहलगानीमा पर्यटन पूर्वाधार निर्माण अघि बढाउने सहमति समेत बैठकले गरेको बताउनुभयो ।
यस्तै दैलेख र कालिकोट जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा विकास निर्माणका विषयमा आपसी समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकबाट गरिएको छ । बैठकले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खननका लागि ड्रिलिङ सम्पन्न भएर अन्तिम प्रतिवेदन सार्वजनिक भइसके पनि सरकारले आवश्यक चासो नदिएको भन्दै उत्खनन कार्य अगाडि बढाउन संघीय सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ ।
महावु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले कर्णाली प्रदेशको राजधानी सुर्खेत देखी दैलेख हुदै नाग्चेनाग्ला सम्म पुग्न सहज र छिटो हुने सडकलाई आवश्यक बजेट बिनियोजन गरी दुर्गम जिल्लाको सडक पहुँच पु¥याउने प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो यो सडकलाई सरकारले प्रथामिकता दिएर बजेट बिनियोजन नगरेको खण्डमा आफुहरु सिहदरवारमा आमरण अनसन बस्ने चेतावनी दिनुभयो । साविक कर्णाली जोड्ने कर्णाली राजमार्ग निकै लामो हुने हुँदा दैलेख बाट सडक निर्माण भएको ८० किलोमिटर कम हुने बताउनुभयो ।
उहाँले थप्नुभयो दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थको उत्खनन कार्य र त्रिदेशी सडक बिस्तार भएको खण्डमा देशको अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्नेथियो । समन्वय बैठकमा कर्णाली प्रदेश सभाका उपसभामुख योशदा न्यौपाने कर्णालीमा भएका सम्भावनाहरुलाई सडक,विद्युतको पहुँचमा बिस्तार गरी आन्तरिक तथा बाह्यपर्यटकलाई भित्राउनु पर्ने बताउनुभयो । उहाँले त्रिदेशीय सडक निर्माण गरी चाइना संग सहज ढंगले पुग्ने मार्ग निर्माण गरेको खण्डमा देशको राजस्वमा समेत बृद्धि हुने बताउनुभयो ।

