नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध


काठमाण्डौँ : नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय इनिङ्स खेल्नुभयो । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ३५ बलमा दुई चौका र पाँच छक्का हान्नुभयो ।
दीपेन्द्रले ५५ रन बनाउनुभयो । अर्धशतक बनाउने क्रममा उहाँले ४९ बलमा पाँच चौका र एक छक्का हान्नुभयो । यस्तै कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाउनुभयो । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाउनुभयो । ६२ रनको सामना गर्दा उहाँले १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाउनुभएको हो ।
आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

