Loading... आजः बुधबार, बैशाख ३०, २०८३
Trending

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत  :  २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो ।

सोही खण्डमा बाँकी रहेका १४ पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । सडक हस्तान्तरण गरेको सात वर्षपछि यो सडक खण्डको ५६ किमी कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । बाँकी ठाउँमा काम गर्न ठेक्का लागे पनि काम अझै सुरु भएको छैन ।

जाजरकोटको नलगाड–१२ बाट डोल्पाको दुनैसम्मको ६२ किलोमिटर निर्माण बाँकी रहेका १४ वटा पुल निर्माण गर्न योजना आयोगले सहमति दिएको छ । यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ वटा पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेको थियो । स्रोत सुनिश्चित भएसँगै अब अन्य कामहरू सुरु हुने योजना प्रमुख नरेश केसरीले जानकारी दिनुभयो । तीस मिटरभन्दा कमको पुलको डिजाइन स्वीकृत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले गर्दछ । त्योभन्दा माथिको लागि माथिल्लो निकायमा पढाउने गरिन्छ ।

भेरी कोरिडोरभित्रका फूलबारीखोला पुल, चिसापानीखोला पुल, खहरेखोला, घट्टेखोला, मनकाखोला, रिजिगार, उसुमखोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्ली गाड, खोरखोलामा पुल निर्माण गर्न सहमति दिइएको हो तर यही सडकखण्डमा छ वर्षदेखि पाँचवटा पक्की पुल अलपत्र पर्दै आएका छन् ।

हाल यो सडकखण्डको नामकरण भेरी कोरिडोर सडक योजना राखिएको छ । यो कोरिडोरको कुल लम्बाइ ३१० किमी रहेको छ । जाजरकोट खलङ्गाको पासागाडदेखि नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको काम यति बिल्ड्रसमार्फत भइरहेको छ ।

सुर्खेतबाट डोल्पाको अन्तिम विन्दुअर्थात् नेपालको चीनको सिमाना मरिमसम्म ३१० किमी रहेको भेरी कोरिडोर सडक योजना हाल जाजरकोटको अन्तिम विन्दु तल्लुसम्म काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम विन्दु मरिमअर्थात् चीनको सिमानासम्म पुगेर यो सडक पूरा हुन्छ । भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको योजना प्रमुख केसरीले बताउनुभयो । साभार गोरखापत्र-रासस