Loading... आजः शुक्रबार, बैशाख ४, २०८३
Trending

पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै


दैलेख  :   माध्यमिक शिक्षा परीक्षा ९एसइई० बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार यस वर्ष पाँच लाख १२ हजार ४७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
एसइई परीक्षाका लागि देशभरका एक हजार ९६५ वटा र जापानमा एउटा गरी कुल एक हजार नौ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक ज्ञवालीले परीक्षामा ११ हजार ३७० विद्यालयका विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो ।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । काठमाडौंका एक सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिइएको छ । । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी रहेको उहाँको भनाइ छ ।

बोर्डका अनुसार यस वर्ष कोशी प्रदेशमा ८२ हजार ४८७, मधेसमा ९० हजार २४३, बागमतीमा एक लाख नौ हजार ५१३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२, कर्णालीमा ३९ हजार ७६९ र सुदूरपश्चिममा ५४ हजार ६३५ परीक्षार्थी सहभागी हुँदैछन् ।