Loading... आजः शनिबार, बैशाख ५, २०८३
Trending

आन्दोलनमा रगत बगाएका प्रकाश सांसदको ढोकामा रोकिए


दैलेख  :  भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनका क्रममा खुट्टामा गोली लागेर गम्भीर घाइते हुनुभएका दैलेखका प्रकाश बोहोराको सांसद बन्ने सपना अन्ततः अधुरै बनेको छ । पाँच महिना अस्पतालमा उपचारपछि घर फर्किनुभएका बोहोरालाई (रास्वपा) ले समानुपातिक सांसद बनाउने भन्दै बन्दसूचीमा खस–आर्य समूहबाट चौथो नम्बरमा राखेको थियो । तर अन्तिम समयमा पार्टीले समानुपातिक सांसदको नाम सिफारिस गर्दा उहाँको नाम नपरेपछि सांसद बन्ने आशा टुटेको हो । बोहोरा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते हुनुभएको थियो । गोली लाग्दा उहाँको जुत्ता रगतले राताम्मे भएको तस्वीर सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो र त्यो जेन–जी आन्दोलनको प्रतीकजस्तै बनेको थियो।
पाँच महिना अस्पतालमा बिताएपछि मात्र घर फर्किनुभएका उहाँ चुनावमा वैशाखी टेकेरै चुनावी अभियानमा होमिनुभएको थियो । रास्वपाले उहाँलाई समानुपातिक सूचीमा खस–आर्य समूहबाट चौथो नम्बरमा राखेपछि रास्वपा बाट संसद बन्ने पक्का भन्दै मत समेत मागिएको थियो । तर समानुपातिकतर्फ विभिन्न क्लस्टर मिलाएर नौ जना पुरुष सांसद छनोट गर्दा आन्दोलनका प्रमुख घाइते बोहोरा भने सूचीमै सीमित हुनुपरेको छ। निर्वाचनका बेला आन्दोलनका घाइते र शहीदलाई देखाएर मत मागिएको स्मरण गर्दै बोहोरा भन्नुहुन्छ “चुनावी नारामा पनि अटायौं, मत माग्न पनि अटायौं, तर सांसद बन्ने यात्राको ढोकामै रोकिनुप¥यो।” आन्दोलनको दिन सम्झँदा उनको खुट्टाको पुरानो घाउ अझै सम्झनामा ताजा हुन्छ। प्रहरीको गोली लागेर रगत बगेको त्यो क्षणले उनलाई आन्दोलनको मूल्य सम्झाइरहन्छ ।
समानुपातिक सांसदको नाम सिफारिस भएपछि बोहोराले सामाजिक सञ्जाल फेसबुकमा पनि आफ्नो प्रतिक्रिया लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ “देश निर्माण एक व्यक्तिले मात्र सम्भव हुँदैन। हामी सबैले हातेमालो गरेर, सकारात्मक सोचका साथ अघि बढे मात्र समृद्ध र सुन्दर नेपाल निर्माण सम्भव छ। देश अवश्य बन्छ।” त्यसअघि फागुन ३० गते उहाँले अर्को सन्देश लेख्दै संघर्षको मूल्य सम्झाउनुभएको थियो । “तिमी सत्तामा त्यसै चढेका छैनौ साथी, यो नभुल्नु कि तिमी सत्तामा पुग्नुअघि केही मित्रहरूको बलि चढेको थियो। सत्ता र विजय कहिल्यै सजिलै आउँदैनन्, यसको पछाडि धेरै संघर्ष, त्याग र बलिदानको इतिहास हुन्छ।”
रास्वपाले आन्दोलनका अर्का घाइते कालिकोटका पवन शाहीलाई पनि समानुपातिक सूचीमा राखेको थियो। शाही खस–आर्य समूहको पाँचौँ नम्बरमा थिए र अपाङ्गता समूहमा समेत समावेश थिए। तर उनी पनि अन्ततः सांसद बन्न सकेनन् । त्यस्तै जेन–जी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा खस–आर्य महिला समूहबाट समानुपातिक सांसद बन्नुभएको छ । आन्दोलनका अर्का घाइते मुकेश अवस्थीकी दिदी आकृति अवस्थी पनि समानुपातिक सांसद बन्नुभएको छ । रास्वपाले कर्णाली प्रदेशबाट समानुपातिक सूचीमा नाम समावेश गरे पनि अन्ततः निर्वाचन प्रणालीमार्फत सांसद बन्ने सिफारिसमा कर्णालीका उम्मेदवार नपरेपछि स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपा दैलेखका सचिव प्रकाश बुढाले सामाजिक सञ्जालमा लख्नुभएको छ “जेन–जी आन्दोलनका घाइतेः सहानुभूतिको मत कि न्यायको प्रतीक्षा? यो जुत्ताले मात्र होइन, सिङ्गो कर्णालीले न्याय खोजिरहेको छ।” जेन–जी अभियानकर्मी संगिता थापाले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनका घाइते प्रकाश बोहोरालाई न्याय दिनुपर्ने माग गर्नुभएको थियो । आन्दोलनमा बगेको रगतले परिवर्तनको सपना देखाएको थियो। तर अहिले प्रकाश बोहोरा संसदको ढोकामा रोकिएको भन्दै रास्वपाले समेत कर्णालीका जनता प्रति अन्याय गरेको बताएका छन । कर्णाली प्रदेश बाटै श्रमसस्कृति पार्टीले राधिका रम्तेललाई सामानुपातिक सांसद बनाउँदा रास्वपाले नबनाउनु कर्णाली प्रति अन्याय गरेको भन्दै धेरै जनाले दुःख ब्यक्त गरेका छन ।