समुदायस्तरमा मतदाताशिक्षा अभिमुखीकरण


दैलेख : महिला, कानून र विकास मञ्चको सहकार्यमा राष्ट्र निर्माणका लागि महिला सशक्तिकरण केन्द्र ललितपुरले समुदाय स्तरको मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचन प्रणाली, मतदाताको अधिकार अभिमुखीकरणसंगै मत संकेत गर्ने र मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने तरिका समेत त्यस बखत प्रयोगात्मक अभ्यास गराइएको थियो ।
आफ्नो मत आफै हाल्ने, अतिअशक्तहरुको हकमा विश्वासिलो व्यक्तिलाई मात्र मत संकेत गर्न लगाउन सक्ने निर्वाचन कानूनमा भएको व्यवस्था, दिएको मत नबिग्रियोस् भनेर मतदाताले जान्नुपर्ने कुराहरु विषयमा सहजकर्ता सुनिता पोखरेलले सहजीकरण गर्नुभएको थियो । मतदाता शिक्षा सर्वसाधारण महिला र पहिलो पटक मतदान गर्न लागेको युवा मतदाताहरु केन्द्रित गरिएको थियो ।
देशभर ५ वटा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने यस क्रममा यस अघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट, डोल्पाकै ठूलीभेरी नगरपालिका १ दुनैबजार, जाजरकोटको नलगाडा नगरपालिका ७ दल्ली र दैलेखको गुराँस गाउँपालिका १ पातलखोलामा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गंगा मगरातीले जानकारी दिनुभयो ।

