Loading... आजः शनिबार, बैशाख ५, २०८३
Trending

निर्वाचन आचारसहिता पालना गर्ने दलहरूको प्रतिबद्धता


दैलेख  :   निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता दैलेखका क्रियाशील राजनीतिक दलहरूले जनाएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसहिता सम्बन्धी आयोजना गरेको राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा दलका प्रतिनिधिहरूले आचारसंहिता पालना गर्दै मर्यादित निर्वाचनमा सहकार्य गर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कोषाध्यक्ष शैलेश श्रेष्ठले आफ्नो पार्टी निर्वाचन आचारसंहिता पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले उम्मेदवारका लागि तोकेका व्यवस्था बाहेक अन्य गतिविधि नगर्ने स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले दैलेख जिल्लामा हुने निर्वाचनहरू स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले दलहरूबीच भएका सहमतिका आधारमा आचारसंहिता कार्यान्वयनमा एमाले जिम्मेवार भएर प्रस्तुत हुने बताउनुभयो । उम्मेदवार मात्र नभई जिल्लाका ९० वटै वडाका पार्टी कमिटीलाई समेत आचारसंहिता पालना गर्न परिपत्र गरिने उहाँको भनाइ छ ।
नेकपाका केन्द्रीय सदस्य मयाराम अधिकारीले विगतमा आचारसंहिता पालनामा केही कमजोरी देखिएको स्वीकार गर्दै यसपटक मुख्य निर्वाचन अधिकृतको कार्यालयले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष रणबहादुर सिंहले निर्वाचनलाई मर्यादित र कम खर्चिलो बनाउन सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले पैसाका आधारमा मत किन्ने प्रवृत्तिको अन्त्यका लागि कडाइका साथ अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चाका नेता जनक शर्माले सबै दलले मतदातालाई स्वतन्त्र रूपमा मत जाहेर गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल मजदुर किसान पार्टीका नेता जगत वलीले निर्वाचन आचारसंहिता पालनाबारे नियमित अनुगमन र प्रभावकारी शान्ति सुरक्षाको व्यवस्था आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको अन्त्यमा दैलेख जिल्लाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले निर्वाचन आचारसंहिता पालना भए निर्वाचन स्वतः निष्पक्ष र धाँधलीरहित हुने बताउनुभयो। उहाँले आचारसंहिता उल्लंघन भए उम्मेदवारी रद्दसम्मको कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सबै दललाई सचेत रहन आग्रह गर्नुभयो। मुख्य निर्वाचन अधिकृत पाण्डेले उम्मेदवारको मनोनयनका क्रममा तोकिएको समय पालना गर्न र २५ जनाभन्दा बढी नेता तथा कार्यकर्तासहित कार्यालयमा नआउन समेत राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो। आचारसहिता सम्बन्धी छलफल कार्यक्रमा प्रमुख जिल्ला अधिकारी आनन्द सारु र निर्वाचन क्षेत्र नः २ का निर्वाचन अधिकृत लोकहरी कडेलको सहभागीता रहेको थियो ।