Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

विपत्‌काे बिउँझाइ

 

१९  चैत, काठमाडौँ । असिना र पानीसँगै आएको हावाहुरीले बारासहित पर्सा र रौतहटमा ठूलो धनजन क्षति हुन पुग्यो  । सर्वसाधारणले अचानक जुन संकट बेहोरे, त्यसको कुनै हिसाब छैन  । गरिब सर्वसाधारणको बसोबास भएकै देहातमा जुन विनाशलीला चल्यो त्यो भोग्नेहरूका भलिभाँती सास्ती शब्दमा चित्रण हुन सकिरहेका छैनन् ।

घरमाथिका बिजुलीका पोल र रूख ढले, चल्दै गरेको बससमेत दुर्घटना भयो, जनसाधारणलाई एकछिन त पृथ्वीको प्रलयको महसुस गरायो ।

प्रकृतिको यो परीक्षा हो कि प्रविधिप्रति हाम्रो राज्यका निकायहरूको उदासीनता ? अधिकारीहरूका भनाइमा भारतीय मौसम निकायसँग भएका उपकरण पनि हामीसँग छैनन् । हामीले सामना गर्नुपर्ने विपत्ति भने कम छैनन् । मौसम पूर्वानुमानलाई सरल र सहज बनाउन प्रविधि र प्राविधिक आवश्यक पर्छन् भन्ने न्यूनतम सचेतना पनि हामीसँग नभएको बारा वरपरको यो विनाशले छर्लङ्ग पारिदियो ।

Citizen

प्रस्ट भएको छ, सामान्य घामपानी, झरी बादलका गतिविधि अनुमान गर्नेबाहेकको क्षमता हाम्रो संयन्त्रसँग छैन । यो आफैँमा विपत्को सूचक हो । भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले विहार राज्यसहित आसपास आइतबार भयानक हावाहुरीको प्रक्षेपण गर्‍यो । नेपालको जल तथा मौसम विज्ञान विभागले सतर्क पार्न कुनै सूचना दिन त सकेन नै, छिमेकको भविष्यवाणीका संकेत र सन्दर्भसमेत विश्लेषण गरेन । हामीले न कुनै होसियारी अपनाउन सक्यौँ न आसन्न आपत्को पूर्वानुमान नै ।

हाम्रो राज्यको आँखा खोलिदिन यही पर्याप्त छ । २०५० असारमा कुलेखानी आसपासमा यस्तै विपत् आइपरेको थियो । अकस्मात मेघ गर्जनका साथ मुसलधारे पानी पर्दा सयौँले ज्यान गुमाएका थिए । पुलसमेत बगाएको थियो । सरकारको अध्ययन टोलीले मौसम पूर्वानुमानका लागि आवश्यक प्रविधि भित्र्याउन सुझाव दियो ।

कुनै घटना भए सुझाव लिने र त्यसलाई सिरानी बनाएर सुत्ने हाम्रो सरकारीशैलीले जित्यो । विपत्मा मात्र ब्युँझने, अरू बेला अलमस्त रहने । यस्तो हुन्डरी छोटो समयका लागि आउँछ, विनाशलीला मच्चाउँछ । २०–३० किलोमिटर क्षेत्रलाई प्रभावित तुल्याउँछ । पूर्वानुमान गर्न वायुमण्डलको विशिष्ट अवलोकन गर्न सक्ने उपकरण चाहिन्छ । समुद्री आँधी लामो समय आउँछ, यस्तो हुन्डरी थोरैबेर । हुन्डरी कसरी आयो र यसको वातावरणीय पक्ष के थियो भनेर खुट्याउन सके अब हुने घटनाको पूर्वानुमान गर्न सघाउँछ । जलवायु परिवर्तनका कारण यस्ता घटना भइरहने चेतावनी विज्ञले दिन थालेका छन् । सन् २०१४ मै पनि ‘स्काइक्लोन’ हामीसम्म आइपुग्यो । भारतमा बबन्डर मच्चाएको उक्त सामुद्रिक आँधीले यहाँ पनि क्षति पुर्‍यायो ।

जल तथा मौसम विज्ञान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पूर्वानुमान महाशाखाबाट मौसम भविष्यवाणी गर्दै आएको छ । यो केन्द्रबाट हवाई क्षेत्रका लागि जानकारी दिन मौसम भविष्यवाणी थालिएको थियो । पछि सर्वसाधारणलाई पनि सूचना सेवा दिन थालियो । पाँच दशकमा पनि केन्द्रले स्थानविशेष र समय तोकेर भविष्यवाणी गर्न सकेको छैन । महाशाखाले मुलुकलाई पूर्वी, मध्य र पश्चिम मोटामोटी तीन भेगमा बाँडेर पूर्वसूचना दिने गर्छ । जबकि प्रविधिमैत्री देशहरूमा यति बजे यो ठाउँमा यति समयका लागि पानी पर्छ भन्ने सूचना दिने गर्छन् । हाम्रो भने मौसम विभागको संगठन संरचनामा २०४४ सालताका जति जनशक्ति थिए, अहिले पनि लगभग त्यति नै छन् ।

प्राकृतिक विपत्ति सम्पूर्ण रूपमा रोक्न सकिन्न, जोखिम र क्षति घटाउन सकिन्छ । सरकारले गत वर्ष विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ल्याएअनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाउन सकेको छैन । सरकारले पीडित परिवारलाई राहत सहयोगको जति आश्वासन दिन्छ, यस्ता घटनाबाट हुने क्षति कम गर्ने संयन्त्र बलियो पार्न उत्तिकै सिक्न जरुरी छ। विपत्ले दिने शिक्षा महँगो हुन्छ। नलिए झन् महँगो पर्छ।