चाडपर्व लक्षित सुरक्षा योजना, ५ हजार प्रहरी परिचालन
सुर्खेत : कर्णालीमा दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर पनि प्रहरीले लागु गरिसकेको छ । चाडपर्वको आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको छ भने शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको छ ।
चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोवाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । त्यसका लागि ३२३ स्थान तोकिएको छ । २० वटा जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ १२ स्थानमा कर्डन एन्ड सर्च गर्ने गरी तयारी थालिएको छ
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार १०२ वटा क्यूआरटी परिचालन गरिएको छ भने ६८ वटा थप चेक प्वाइन्ट राखिएको छ । जसले सडक सुरक्षालाई थप प्रभावकारिता बनाउने अपेक्षा लिइएको उनले बताए । आकस्मिक हुने घटनाहरूको लागि समे जनशक्ति तयारी अवस्थामा राखिएको छ । उनका अनुसार १७ वटा टोलीमा १३४ जनालाई तयारी अवस्थामा राखिएको छ । यसअघि भइरहेको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ पार्न ८३ स्थानमा संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ भने बजार अनुगमनलाई तीव्र पारिएको छ ।
भट्टराईका अनुसार लामो दुरीका सवारी साधनहरुमा दुई वटा चालकको व्यवस्थान हुनुपर्ने भनिएको छ । सवारी साधनलाई नियमन गर्नका लागि विशेष चेकिङको पनि योजना ल्याइएको छ । सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैंक तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी हामीले सुरक्षा योजना बनाएका छौँ,’ प्रवक्ता भट्टराई भन्छन्,‘यात्रुहरूको सहजताका लागि विभिन्न जिल्लाका ६१ वटा स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
साथै चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्नका लागि सम्भावित १८ वटा स्थानहरूमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको पनि उनले बताए । आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थल, महत्त्वपूर्ण ९२ स्थान र झै–झगडा, जुवा तास, चोरी लुटपाट,मापसे, लापसे नियन्त्रणका लागि विभिन्न ६६ स्थान निर्धारण गरेर जनशक्ति परिचालन गरिएको छ । प्रदेशका १ हजार ३६९ वटा ड्युटीमा ५ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ,’ उनले भने,‘ यो गत वर्षको भन्दा निकै बढी हो । चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छित÷आपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकहरूले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्ने हाम्रो प्रयास हो ।साभार रातोपाटी