Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

डोल्पालीलाई प्रतिव्यक्ति ६० केजी चामल

जाजरकोट  :   डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ ।

डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी मात्र दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताए ।

सदरमुकाममा एक हजार क्विन्टल चामल रहेकाले त्यहीँबाट अहिले काम चलाउने गरिएको उनको भनाइ थियो । त्यस्तै सदरमुकामकै अर्को डिपो जुफालमा एक सय ५० क्विन्टलमात्र चामल रहेको र सदरमुकामभन्दा बाहिरका डिपोमा लामो समयदेखि एक गेडा चामल नभएको उनको भनाइ थियो ।

लिकु, सर्मी, सहरतारालगायत डिपोहरुमा लामो समयदेखि चामल नभएको अवस्था छ । यी ठाउँमा ढुवानीकर्ताले आफैँ लिएर चामल बिक्री गर्दै आएका छन् । सदरमुकामबाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन् । कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन् । पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरेमा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ । रासस