६ महिनापछि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पायो पुर्णता
धनगढी : सरकार गठन भएको ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेसँगै नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
दुबै मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाए। नागरिक उन्मुक्ति पार्टीको दुई मन्त्रालय पाउनुपर्ने अडानका कारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। २०७९ सालको माघ २७ गते मुख्यमन्त्री शाहले सपथ खाए पनि अहिलेसम्म सरकारले पूर्णता भने पाएको थिएन।
नागरिक उन्मुक्ति पार्टीले अन्ततः एक मन्त्री र एक राज्यमन्त्रीमा चित्त बुझाएको छ। कैलालीबाट जितेका नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ खुवाए।
असार ५ गतेदेखि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि बैतडी (२) बाट जितेका कांग्रेसका शिवराज भट्टलाई नियुक्त गरिएको छ। कांग्रेसबाटै आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका बझाङका पृथ्बी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय रिक्त थियो। गठन भएको ६ महिनापछि सरकारले पूर्णता पाएसँगै प्रदेश सरकार अब खटिएर जनभावना अनुसार काम गर्ने मुख्यमन्त्री शाहले बताए।
लामो समयदेखि सरकारमा नजाने अडान राख्दै आएको नागरिक उन्मुक्तिसँग मंगलबार गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका थिए। उन्मुक्तिलाई दुई वटा विषयगत समितिको सभापति पनि दिने सहमति भएपछि सरकारमा जान तयार भएको हो