Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

आधा असारमा मात्र साढे दुई अर्ब खर्च

सुर्खेत  :  आधा असारमा मात्र कर्णाली प्रदेश सरकारले साढे दुई अर्ब बढी खर्च गरेको छ । प्रदेश सरकारले आधा असारमा दुई अर्व ५४ करोड बढी बजेट खर्च गरेको छ । अहिलेसम्ममा मात्र कर्णाली प्रदेश सरकारले दुई अर्ब ५४ करोड ३६ लाख ५९ हजार आठ सय ३२ रुपैयाँ ३१ पैसा बजेट खर्च गरेको हो ।

यसअघि जेठ मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल बजेट मध्ये १३ अर्ब नौं करोड ६६ लाख १७ हजार आठ सय ३२ रुपैयाँ ६२ पैसा खर्च गरेको थियो । हालसम्ममा कर्णालीको प्रदेश सरकारको कुल बजेटबाट १५ अर्ब ६४ करोड दुई लाख ७७ हजार ६ सय ६४ रुपैयाँ ९३ पैसा बजेट खर्च पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

असारको महिनामा मात्र सबैभन्दा धेरै रकम भुक्तानी गर्नेमा भौतिक पूर्वाधार विकास मन्त्रालय छ । यस मन्त्रालयले असार महिनामा मात्र ६५ करोड ४४ लाख ९८ हजार नौ सय ३० रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ५३ करोड ९६ लाख ९३ हजार ६ सय ७९ रुपैयाँ बजेट खर्च गरेको छ।

सामाजिक विकास मन्त्रालयले २५ करोड ७४ लाख ७६ हजार चार सय १६ रुपैयाँ भुक्तानी दिएको छ । कृषि तर्फ पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २३ करोड १५ लाख पाँच हजार पाँच सय ७७ रुपैयाँ भुक्तानी दिएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मिलनकुमार शर्माले जानकारी दिए । कार्यालयका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० करोड ९२ लाख ६१ हजार चार सय ७८ रुपैयाँ भुक्तानी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई करोड २२ लाख ९० हजार नौ सय ८७ रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयले एक करोड, १४ लाख ४३ हजार ३७ रुपैयाँ भुक्तानी दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने असार महिनाको १७ दिनमा ४३ लाख ३८ हजार तीन सय ३५ रुपैयाँ भुक्तानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।साभार इकाज