छानो उडाएपछि पठनपाठनमा समस्या
दैलेख : हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठनमा समस्या भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –६ मा रहेको धौलापडा आधारभूत विद्यालय छडाथानको दुई कोठे भवनको पाता उडाएपछि पठन पाठनमा समस्या भएको हो । धौलापडा आधारभूत विद्यालय छडाथानका प्रधानाध्यापक जङ्ग बहादुर शाहीले हावाहुरीले विद्यालयको पाता उडाएपछि पठन पाठनमा समस्या भएको जानकारी दिए । उनले विद्यार्थीलाई खुल्ला आकाशमा राखेर पढाउनु पर्ने बाध्यता रहेको जानकारी दिए । उनले भने पानी नपरेको बेला बाहिर राखेर पढाइरहेको र पानी परेको बेला कक्षा मर्जर गरेर पढाई रहेको छ । उनले भने बाल विकास र कक्षा एक लाई एक ठाउँमा र कक्षा चार र पाँच लाई एक ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता छ ।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले विद्यालयको छानो उडाएको खबर आए लगत्तै विद्यालयमा गएर अनुगमन गरेको र छिटै बनाउन लागि परेको जानकारी दिए । उनले विद्यालयको पाता ,दार नयाँ खरिद गरी बनाउनु पर्ने भएका कारण केही समय लाग्ने बताए । उनले भने प्राविधिक स्टमेट तयारी गरी आवश्यक बजेट बिनियोेजन गर्ने र विद्यालय भवनलाई मर्मत गर्छौ । ६ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएको थियो ।