Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान जारी


काठमाडौं  :  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान सुरू भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरू भएको हो। जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूको बयान सुरू भएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने, आजदेखि बयान सुरू भएको छ। बयान सकिन दुई तीन दिन लाग्न सक्छ । त्यसपछि थुनछेक बहस हुनेछ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगी गरेको कसुरमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सोही प्रकरणमा १६ जना पक्राउ परेका छन्। बयान करिब दुई हप्ता लाग्ने बताइएको छ। बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने आदेश हुनेछ।

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ठगी, सरकारी लिखित कीर्ते, संगठित अपराधको कसुर, राज्यविरूद्धको कसुरलगायत पाँचवटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ। जसमा २४ वर्ष कैद सजाय माग गरिएको छ। उनीहरूविरुद्ध २८ करोड ८४ लाख ७४ हजार पाँच सय बिगो माग गरिएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा चलाएर उनीहरूले करोडौं रकम असुल गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ। पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको उनीहरूमाथि आरोप छ।
प्रहरीले शरणार्थी प्रकरणमा विभिन्न समयमा पक्राउ परेका माथि अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। प्रहरीले गत चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो।