बलात्कार कसुरमा १३ वर्ष कैद फैसला
दैलेख : १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले आज १३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा २२ सय रुपैयाँ तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिए ।
०७७ चैत १९ गते लक्ष्मी प्रावि देउरालीको भान्सा कोठामा लिई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरेको थियो । अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट आरोपितलाई थुनामा राख्ने आदेश भएको थियो ।