दैलेखमा उपभोक्ता हित संरक्षण मञ्च गठन
दैलेख : उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न दैलेखमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा गठन भएको छ । अधिवक्ता सुरेन्द्रकुमार अधिकारीको अध्यक्षता ११ सदस्य जिल्ला समिति निर्विरोध चयन गरिएको जनाइएको छ । मञ्चको उपाध्यक्षमा दिलकुमारी चन्द, सचिवमा अमर सुनार, कोषाध्यक्षमा तुल्सी कटुवाल चयन भएका छन् । सदस्यहरुमा दिपेद्र थापा, ललित मल्ल, हेमन्त बस्नेत, सुनिता सुनार, प्रतिमा थापामगर, शेरबहादुर बुढामगर र कृष्णकला थापा रहेका छन् ।
२०५१ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको गैरनाफामूलक र नागरिक समाज संस्थाको रुपमा क्रियाशील रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालको नेपालभर ५४ जिल्लामा शाखा स्थापना भइसकेका छन् । दैलेख ५५ औं शाखा भएको मञ्चका महासचिव बिष्णु तिमिल्सिनाले बताए ।
व्यक्ति, समूह वा निकायले वस्तु वा सेवा उपभोग गर्दा उत्पादक वा सेवाप्रदायकले बस्तु र सेवाको मूल्य अनुसार गुणस्तर, सहज पहुँच र उपलब्धता विषयमा आवश्यकता अनुसार सहजीकरण र जवाफदेहिता अभिबृद्धि गराउन मञ्चको स्थापना भएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल स्वदेशी बस्तुको उपभोग अभ्यासलाई बढावा दिने, स्थानीय उत्पादनलाई सरकारका निकायले प्राथमिकता दिने, स्थानीय बस्तु तथा सेवाहरुलाई आवश्यकता अनुसार प्रवद्र्धन निम्ति इच्छुक उद्यमी वा सेवाप्रदायकको सेवा, सहुलियत र सुविधाको निम्ति पहल गर्दै आएको छ ।