कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ
सुर्खेत : कर्णालीका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयता शपथ ग्रहण लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
नेकपा एमालेबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्माले भूमि, व्यवास्था, कृषि तथा सहकारी मन्त्री र सुर्खेतका कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानून मन्त्रीको पद तथा गोपनीयताका शपथ ग्रहण लिएका छन्।
नयाँ मन्त्रीहरुलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै, गत पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट दैलेखका विनोदकुमार शाहा आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका छन्।