Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

भिआइए जाँच किन आवश्यक ?


डा धर्मराज रेग्मी
सजिलै रोकथाम गर्न सकिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो। यदि सही समयमा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था पत्ता लगाई सही उपचार गर्न सकियो भने पछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। यसरी सुरुको अवस्था पत्ता लगाउने विभिन्न तरिकामा हाम्रो जस्तो कम विकसित तथा निम्न आए भएका देशहरूमा भिआइए जाँच निकै प्रभावकारी देखिन्छ। विकसित देशहरुमा तथा नेपालमै पनि केही सहरी क्षेत्रमा अन्य विधि जस्तै प्याप स्मेयर, एचपीभी डिएनए, एलबीसीबाट पनि पत्ता लगाउन सकिन्छ।

के हो यो भिआइए जाँच
सुन्दा जति भयङ्कर र डरलाग्दो छ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ टेस्टको कुरा, त्यति नै सजिलो र सहज छ यो भिआइए गर्ने विधि र आवश्यक पर्ने अरु कुराहरु पनि। अरु जाँचहरु जस्तो जटिल, दक्ष चिकित्सकरस्त्रीरोग विशेषज्ञ वा प्याथोलोजिस्ट नै आवश्यक पर्ने त्यस्तो केही छैन। नत ठुलठुला उपकरण नै चाहिन्छ। सामान्य रूपले केही दिनको तालिम लिएको पारामेडिक्स तथा नर्सिङ स्टाफलेसमेत सजिलैसँग एसेटिक एसिडको मदतले भिआइए जाँच गर्न सकिन्छ।

किन गर्ने त भिआइए जाँच
पाठेघरको मुखको क्यान्सर विश्वभरका महिलामा हुने चौथो प्रमुख क्यान्सर हो। विश्व स्वास्थ संगठनका अनसार यसले गर्दा सन् २०२० मा मात्र ३,४२,००० जना महिलाको मृत्यु भएको थियो र त्यो वर्ष ६,०४,००० जना नयाँ केसहरु पत्ता लागेका थिए। जसमध्ये लगभग ९० प्रतिशत नया केस तथा मृत्यु निम्न आए भएका तथा विकासन्मुख देशमा भएको रहेछ। यदि सहि समयमा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था पत्ता लगाई सहि उपचार गर्न सकियो भने पछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सर बाट बच्न सकिन्छ।

कसले र कहिले गर्ने भिआइए जाँच
पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसको ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ। यो भाइरस सर्ने भनेकै यौनसम्पर्कबाट हो, धेरैजसो मानिस सुरुवाती यौनसम्पर्क गर्दा नै यो भाइरसबाट संक्रमित हुन्छन र लगभग ९० प्रतिशतमा यो संक्रमण आफै ठिक भएर जान्छ। बाँकि १० प्रतिशतमा भने सुरुमा देखिने प्रिक्यान्सरेज लेजन हुदै जटिल खालको क्यान्सरसम्म हुने गर्दछ। विभिन्न अध्ययनका अनुसार यदि महिला एचआईभी संक्रमित पनि छन् भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ६ गुणाले बढी हुन्छ। एक जना सामान्य महिला जसको शरीरमा रोगसँग लड्ने क्षमता ठिक छ भने पाठेघरको मुखको क्यान्सर हुनलाई लगभग १५(२० वर्ष समय लाग्छ। क्यान्सरको अवस्थासम्म पुग्न लामो समय लाग्ने कुराको फाइदा उठाउँदै सुरुकै अवस्थामा पत्ता लगाई उपचार गराउन उत्तम मानिन्छ र हुन्छ पनि।

हाम्रो नेपालमा ३० वर्षको उमेर देखि भिआइए टेस्ट गर्न सुरु गरेर ३ देखि ५ वर्षको फरकमा ६५ वर्षको उमेरसम्म नियमितरूपमा गर्ने भनिएको छ। र केही जोखिम समूहका महिलाहरुमा भने माथि उल्लेखित भन्दा छोटो समयमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ टेस्ट गराउनुपर्ने हुन्छ।साभार स्वास्थ्य खवर पत्रिका

लेखक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ रेग्मी जिल्ला अस्पताल दैलेखका मेसू हुन्।