Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

१२ वर्ष पछि फेरियो घण्टाघरको घडी


सुर्खेत  : घण्टाघरमा राखेको घडी बिग्रेको १२ वर्ष पछि नयाँ घडी राखिएको छ । १२ वर्षसम्म बन्द रहेको पुरानो घडी निकालेर नयाँ राखिएको हो। २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडी करिब १२ वर्षदेखि बन्द भएका थिए। २०६३/०६४ सालदेखि बन्द भएका घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये घण्टाघर पनि एक महत्वपूर्ण स्थल हो। घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको आधा उपत्यका निहाल्न सकिन्छ। घण्टाघरमा चारै दिशामा १÷१ गरि जम्मा ४ वटा घडी राखिएका छन्। लामो समयदेखि घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य संघको पहलमा वीरेन्द्रनगर नगरपालिकाले करिब १२ लाख रुपैयाँ लागतमा नयाँ घडी जडान गरेको हो।

घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भएपनि पुराना घडीहरू मर्मत सम्भार हुन नसकेपछि भारतबाट नयाँ घडी मगाएर जडान गर्ने कामको समन्वय सुर्खेत उद्योग वाणिज्य संघले गरेको हो। सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले घडी बिग्रिएको १२ वर्ष भएको भने पनि करिब १६/१७ वर्षअघिबाटै चल्न छोडेको बताए।

उनले भने, घडी २०६३/०६४ साल तिर बिग्रिएको हो। यस्तो घडी बनाउने मान्छे नेपालमै छैन, जसको लागि भारतमा मात्रै मर्मत सम्भार हुने भएको हुँदा नगरपालिकले भारतका इलेक्ट्रिसियनसँग पहल गर्न नसक्दा घडी निर्माणमा ढिलाइ भएको हो।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले अन्तिम चरणमा पुर्याएको जानकारी दिए। उनले भने घण्टाघरमा राखिने अमेरीकन टेक्नोलोजीको ४ वटा घडी छन्। ती भारतबाट ल्याइएका हुन्। पुराना घडी निकालेर सबै घडी जडान भइसकेका छन्। साथै यो खालको घडी विश्वकै सबैभन्दा राम्रो कम्पनीको घडीसमेत हो।

साथै घण्टाघर वरिपरि नयाँ रंगरोगन गरेर रंगाउन लागेको समेत अधिकृत तिवारीले बताए। नयाँ घडी राख्नेदेखि रंगरोगन गर्नेसम्म करिब १५ लाख रकम लाग्ने नगरपालिकाले जनाएको छ। साभार नेपाल खवर