सरकार गठनको सबै विकल्प खुला राख्ने माओवादीको निर्णय
काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्प खुला राख्ने निर्णय गरेको छ ।शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि नेकपा (एमाले) सहितका दलसँग छलफल गरेर अघि बढ्न सकिने विकल्प पनि खुला राख्ने निर्णय गरेको हो ।
सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । बैठकमा नेताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको समीक्षा गर्नुभएको महराले बताए । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पार्टी उपाध्यक्ष महराले भने निर्वाचनको प्रारम्भिक समीक्षा भयो । अपेक्षा गरिएअनुसार हामीले सङ्घमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । चुनावको सबै परिणाम आएपछि त्यसमा गम्भीर समीक्षा हुन्छ ।
माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलसँगको विकल्पलाई पनि खुला राख्ने नीति लिएको बताइएको छ । उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोचमा पार्टी नरहेको भए पनि अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको बताए । अर्को पदाधिकारी बैठकमा त्यस विषयमा थप छलफल गर्ने निर्णय माओवादीले गरेको छ । समग्र विषयमा समीक्षा गर्न अर्को बैठक बोलाइएको महासचिव देवप्रसाद गुरुङले बताए ।